पशुपतिमा जलहरी राख्न सर्वोच्चले खोलिदियो बाटो
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले मूल मन्दिरको शिवलिंगमा राखेको सुनको जलहरी तत्काल नहट्ने भएको छ । सुनको जलहरी राख्न नहुने भन्दै दायर भएको रिटमा सर्वोच्च अदालतले सोमबार अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सुनको जलहरी अहिले तत्काल नहट्ने भएको हो । प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबरा र न्यायधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलास सुनको जलहरी राख्ने विषय कानुन विपरीत रहेको र अन्तरिम आदेश जारी हुने पर्ने भन्दै दायर भएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
योसँगै पशुपतिमा राखिएको सुनको जलहरीले वैधानिकता पाएको छ । पशुपतिको मुल मन्दिरमा रहेको शिवलिंगमा फागनु १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पूजाआजा गर्दै सुनको जलहरी अनावरण गर्नु भएको थियो । जलहरी अनावरण भएकै दिन सर्वोच्चले तत्काल जलहरी राख्ने विषय यथास्थितिमा राख्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो । दुवै पक्षको छलफलपछि अदालतले रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । पशुपति क्षेत्र विकास कोषले पशुपतिमा सुनको जलहरी राख्ने विषय कानून विपरीत रहेको भन्दै सर्वोच्चमा २ वटा रिट परेका थिए ।
सर्वोच्चमा रिट परेपछि कोषले हतारहतारमा फागुन १२ गते बुधबार बिहान मात्रै राष्ट्रपतिबाट पूजाआरधाना गर्दै १०८ किलोको सुनको जलहरी अनावरण गरको थियो । बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले सुनको जलहरी राख्ने कार्य रोक्न माग गर्दै रिट दायर गर्नुभएको थियो ।