सगरमाथा चढ्न नेपाल आइपुग्यो बहराइनको राजकुमार र ‘भीआइपी’ टोली
काठमाडौँ । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहित १६ जनाको टोली काठमाडौँ आइपुगेको छ । बहराइन डिफेन्स फोर्सको सैन्य विशेष विमानबाट टोली नेपाल आइपुगेको हो । राजकुमारसहितको पर्वतारोही टोली सोमबार साँझ ६:४८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरण भएका थिए । आरोहण दलमा बहराइन रोयल गार्डमा कार्यरत १३ जना बहराइनी र ३ जना बेलायती नागरिक छन् । आरोही टोलीलाई नेपाल प्रस्थान गर्नु अघि बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससहितले त्यहाँको विमानस्थलमै पुगेर सफल यात्राको शुभकामनासहित विदाइ गरेको थियो ।
आरोहणका लागि आवश्यक बन्दोबस्ती नेपालमा रहेको सेभेन समिट ट्रेक्सले मिलाएको हो । उनीहरु मेरियट होटलमा बस्ने छन् । उक्त टोली ८० दिनसम्म नेपालमा बस्ने छ । यस्तै, टोलीले गोरखाको चुमनुब्बी गाउँपालिका एकस्थित समागाउँका बासिन्दाहरुलाई दुई हजार डोज कोरोना बिरुद्धको खोप पनि उपलब्ध गराउने बहराइनस्थित नेपाली दूतावासले जनाएको छ ।
काठमाडौंबाट गोर्खा जाने र त्यहाँ केही दिन बिताएर सगरमाथा आरोहणमा निस्किने कार्यक्रम छ । उनीहरुले आरोहण दलमा सामेल हुने शेर्पाहरुका लागि कोरोना भ्याक्सिन पनि लिएर आएका छन् । यसअघि, गत असोजमा बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको सोही टोलीले आठ हजार एक ६३ मिटर अग्लो मनास्लु र छ हजार ११९ मिटर अग्लो लुबुचे हिमालको सफल आरोहण गरेको थियो ।