आहा–रारा गोल्डकपमा एक विदेशीसहित ८ टिम बिच प्रतिस्पर्धा हुने

पोखरा । मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा–रारा गोल्डकप फुटबल आगामी चैत २१ देखि २८ गतेसम्म पोखरा रंगशालामा हुने भएको छ । चैत १७ गतेदेखि हुने भनिएको प्रतियोगिता सहभागी टीम थोरै भएपछि चैत २१ गतेदेखि २८ गतेसम्म हुने गरी नयाँ तालिका सार्वजनिक गरिएको हो ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरसको असरका कारण ४ टीम घट्दा प्रतियोगिता अवधि घटाउँदै उद्घाटन मिति सारिएको सहारा क्लब पोखराले जनाएको छ । प्रतियोगितामा यसवर्ष ८ टीम मात्र सहभागि हुने भएका छन् । यसअघि प्रतियोगितामा १२ टीमले सहभागिता जनाउँदै आएका थिए । कोरोना संक्रमणका कारण खेल गतिविधि ठप्प भएको लामो समयपछि पोखरामा १९ औं संस्करणको आहा रारा गोल्ड कप प्रतियोगिता आयोजना गरिन लागिएको हो ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं’ भन्ने नारासहित आगामी चैत्रमा २१ देखि एक साताका लागि फुटबल प्रतियोगिताको आयोजना गरिएको शनिबार विहान आयोजित पत्रकार सम्मेलनमा सहारा क्लब पोखराका अध्यक्ष केशव बहादुर थापाले जानकारी दिए । प्रतियोगितामा नेपाल आयल निगम मनाङ्ग मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्रिस्टार क्लब, नेपाल एपिएफ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, अफ्रिकन रुट एसोएसन, डउला, क्यामरुन र आयोजक सहारा क्लब पोखराको सहभागिता रहने अध्यक्ष केशव बहादुर थापाले बताए ।

प्रतियोगितामा उपाधि विजेतालाई १० लाख १ हजार रुपैयाँ र उप विजेतालाई ५ लाख १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा १ करोड २९ लाख १ हजार रुपैयाँ आम्दानी हुने अनुमान आयोजक क्लवले जाएको छ । त्यसैगरी क्लबले १ करोड १ लाख ८१ हजार रुपैयाँ खर्च हुने अनुमान गरेको अध्यक्ष थापाले बताए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई अप्रिला स्कुटर प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट स्ट्राइकर, मिड फिल्डर, डिफेन्डर, गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई पनि नगदसहित पुरस्कृत गरिने अध्यक्ष थापाले जानकारी दिए । प्रतियोगिताको अवसरमा सहारा क्लबले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७७ बाट एकजना खेलाडीलाई नगद ३५ हजारसहित दोसल्ला र ताम्रपत्र प्रदान गरेर सम्मान गर्ने जनाएको छ । सहारा क्लबले विगत २० वर्षदेखि पोखरामा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । प्रतियोगिताबाट बचत भएको रकम प्रतियोगिता आयोजक सहारा क्लबले सञ्चालन गरेको सहारा एकेडमीमा खर्च गरिनेछ । पोखरा १७ दोबिल्लामा रहेको सहारा एकेडेमीमा हाल १४ जिल्लाका २४ जना असहाय बालकहरू आश्रित छन् । क्लबले उनीहरुलाई शिक्षा, दीक्षा निःशुल्क प्रदान गर्दै आएको छ ।