कांग्रेस र जसपा बिच छलफल सुरु, ओली सरकार हटाउनु पर्छ महामन्त्री कोइराला
काठमाडौँ । सम्भावित र आगामी सत्ता समिकरणबारे नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, नेपालबीच छलफल सुरु भएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)का नेताहरूबीच शुक्रबार अपरान्ह बुढानिलकण्ठमा छलफल सुरु भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । छलफलमा सत्ता समीकरण बारे छलफल हुनेछ । बैठकमा प्रतिनिधि सभा पुनस्स्थापित संसद् सञ्चालन, जसपाको मागबारे पनि छलफल हुने बताइएको छ । यसअघि आजै कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारी बैठक बसेको थियो ।
‘ओली सरकार हटाएर कांग्रेसकै नेतृत्वमा सरकार बनाउनु मुख्य धेय हाे’
त्यस्तै गरी नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले कांग्रेसको मुख्य ध्येय ओली सरकार हटाएर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउनु रहेको बताएका छन् । शुक्रबार नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले ओली सरकारलाई हटाएर नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्नु आफूहरुको मुख्य ध्येय रहेको बताएका हुन् ।
यसका निम्ति मधेसवादी दलहरुसँग छलफल चलिरहेको उनको भनाइ छ । ‘नेपाली कांग्रेस पर्ख र हेर अवस्थामा छ । आजपनि मधेशी पार्टीहरुसँग छलफलको क्रम चलिरहेको छ,’ उनले भने, ‘अहिले हाम्रो मुख्य ध्येय के हो भने ओली सरकारलाई हटाएर एउटा नयाँ सरकारको गठन गर्नुपर्छ । जसको नेतृत्व नेपाली कांग्रेसले गरोस् भन्ने मनशाय हाम्रो छ ।’
ओलीले संविधानमा भ्वाङ पारे, टाल्नलाई कांग्रेस सरकारमा जानुपर्छ : गगन थापा
नेपाली कांग्रेसका अर्को नेता तथा पूर्वमन्त्री गगन थापाले सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने बेला आएको बताएका छन् । शुक्रबार नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले सरकारको नेतृत्व गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा पारेको भ्वाङलाई टाल्ने र देशलाई निर्वाचनमा लगेर नयाँ जनादेशबाट पाँच वर्षका लागि नेपाली कांग्रेस आउनुपर्ने बताए ।
‘सम्भव हुन्छ, सकिन्छ भने यही पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई घर पठाउनुपर्ने छ । नेपाली कांग्रेसको नेतृत्वमा अहिले सकिन्छ भने अहिले सरकार बनाएर, छ, आठ महिना, एक वर्ष चलाएर ओलीले हाम्रो संविधानमा, व्यवस्थामा भ्वाङ पारेको भ्वाङहरु टाल्ने काम गर्नुपर्नेछ,’ थापाले भने ।