महिला दिवसको कार्यक्रममा बच्चा बोकेरै सहभागी भइन् सांसद नविना

काठमाडौं । महिलाको काँधमा कत्ति बोझिलो जिम्मेवारी छ भन्ने कुरा सोमबार आयोजित अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रममा सांसद नविना लामालाई हेर्दा पुग्छ । कार्यक्रमको जोहो मिलाउने जिम्मा उनकै थियो । तर, उनको साथमा ७ महिनाको छोरा पनि थिए । बच्चा बोकेरै कार्यक्रममा उनी सक्रिय थिइन् । बच्चा छाडेर नविना बिहानै घरबाट बाहिर निस्किएका थिए । ५ घण्टासम्म दुध खान नपाएपछि बच्चा रोए । नविनाका श्रीमान प्रविणले बच्चा कार्यक्रमस्थल माइतीघर मण्डलामै पुर्याए । एउटा कुनामा बसेर बच्चालाई दुध खुवाए ।

माइतीघर ट्राफिक चापले गर्दा गाडी रोकेर बच्चा राख्ने स्थिति पनि थिएन । कार्यक्रम अवधिभर नविनाले बच्चा साथमै बोके । कार्यक्रम सकियो, उनको श्रीमान लिन आए र उनी फर्किए । राजनीति गर्ने मान्छे भएपछि बच्चा च्यापेरै बसिरहन नसकिने सांसद नविना बताउँछिन् । नारी दिवसको दिन कार्यक्रम संयोजन गर्ने जिम्मेवारी आफूले बहन गरेको भन्दै उनले साथमै बच्चा बोकेर कार्यक्रम गरेको बताइन् । बैठक तथा भेलाहरुमा भने दुई महिना अघिदेखि नै उनी सक्रिय छिन् । अनेरास्ववियूकी पूर्वअध्यक्ष लामा नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभाका समानुपातिक सांसद हुन् ।

सो कार्यक्रममा नारीवादी एकल नाटक, गीत–संगीत तथा कवितावाचन प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि महिला तथा बालबालिकामन्त्री जुली महतो थिइन् भने अनेरास्ववियूकी नेता सुनिता बलाल अतिथि थिइन् ।