नेकपा ओली समूहको संसदीय दलको बैठक सकियो, आफ्नो पक्षमा बहुमत सांसद् रहेको दाबी

काठमाडौँ । नेकपा ओली समूहको संसदीय दलको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा प्रधानमन्त्री तथा ओली समूहका संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरुलाई संसदका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन निर्देशन दिएका छन् । बैठकमा वामदेव गौतम, लालबाबु पण्डित र तुलसा थापा उपस्थित भएका थिएनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ ।

प्रचण्ड-नेपाल समूहले शुक्रबार संसदीय दलको बैठकमा प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ । केपी शर्मा ओलीलाई हटारए सो समूहले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको हो । प्रचण्ड-माधव समूहले आफ्ना पक्षमा १ सय ११ सांसद रहेको दाबी गरेको छ ।

बहुमत सांसद् रहेको ओली समूहको दाबी

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै राष्ट्रिय सभाका प्रमुख सचेतक समेत रहेका सांसद् खिमलाल भट्टराईले बैठकमा १ सय १५ जना सांसद उपस्थित भएको दाबी गरेका छन् । राष्ट्रिय सभाका २४ र प्रतिनिधि सभाका ९१ जना सांसद् उपस्थित भएको बताउँर्दै उनले भोलि केही थप सांसद् पनि ओली पक्षमा उपस्थित हुने समेत बताए ।

भट्टराईका अनुसार बैठकमा प्रधानमन्त्रीले १ सय १५ सांसद संख्या पुगेको र भोलि २० भन्दा बढी संख्या आफ्नो पक्षमा हुने बताएको हो । भट्टराईले भने, ‘हामीलाई संख्यामा कुनै चिन्ता छैन। हामी बहुमतमा  छौँ ।’ उनले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आएपनि पास नहुने र कसैले त्यस्तो हिम्मत नगर्ने दाबी गरे ।