नेपाल सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति, नेपाल बिद्रोहीमुक्त
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ । आज (शुक्रबार) राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
यस्ता छन् सहमतिका तीन बुँदा-
– दुवै पक्ष देशको राजनीतिक समस्या वार्ताबाट समाधान गर्न सहमत भएका छौँ ।
– नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमत भएको छ ।
– नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लागेको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता–कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।
हस्ताक्षर कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत मन्त्रीहरु उपस्थित छन् । सरकारले गृहमन्त्री रामबहादुर थापा र परराष्ट्र सल्लाहकार राजन भट्टराईको संयोजकत्वमा वार्ता टोली बनाएको थियो । विप्लव समुहले खड्ग बहादुर विश्वकर्मा प्रकाण्ड र उदयबहादुर चलाउने दीपक सम्मिलित वार्ता टोली बनाएको थियो । दुवै तर्फका बार्ता टोलीले वार्ता गरी बिहीबार सहमति गरेका थिए । सोही सहमतिलाई शुक्रबार विशेष समारोहका बीच हस्ताक्षर सहित सार्वजनिक गरिएको हो ।
हस्ताक्षर समारोहमा सरकारका वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार भट्टराईले विगत एक बर्षदेखिको निरन्तरको प्रयास पछि वार्ता निष्कर्षमा पुगेको बताए । हस्ताक्षर समारोह आयोजित राष्ट्रियसभाहलको कार्यक्रम कक्ष स्वदेशी र विदेशी संञ्चारकर्मी र मन्त्री एवं नेताहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मीले खचाखच भरिएको छ ।
अब नेपालमा हिंसात्मक बाटो र हिंसात्मक कार्यदिशा कसैले अवलम्बन गरेको छैन: ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा हिंसात्मक द्वन्द्व समाप्त भएको बताएका छन् । शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रम’मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा अब हिंसात्मक बाटो र हिंसात्मक कार्यदिशा कसैले अबलम्बन नगरेको बताए ।
‘आज एउटा ऐतिहासिक काम भएको छ। अन्तिम किस्तामा नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ। अब नेपालमा हिंसात्मक द्वन्द्व छैन।’ ‘अब नेपालमा हिंसात्मक बाटो र हिंसात्मक कार्यदिशा कसैले अवलम्बन गरेको छैन।’
आगामी दिनमा चन्द नेतृत्वको नेकपाले शान्तिपूर्ण ढङ्गले आफ्ना गतिविधि गर्ने बताउँदै प्रधानमन्त्री ओलीले प्रक्रिया पुर्याएर उसका नेता तथा कार्यकर्तालाई छोडिने बताए ।
प्रधानमन्त्री ओलीले सरकार र नेकपाबीच रातारात सहमति नभएको उल्लेख गरे । ‘रातारात होइन। वर्षौँदेखि वार्ता चलिरहेको थियो’ उनले भने ।