नेकपाको आधिकारिकता विवाद निर्वाचन आयोगले आइतबार टुंगो लगाउने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको टुंगो निर्वाचन आयोगले आइतबार लगाउने भएको छ । आइतबारभित्रमा नेकपाको आधिकारिकता विवाद टुंगो लगाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । शुक्रबार आयोग पुगेका प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका नेताहरुसँगको भेटमा प्रमुख आयुक्त थपलियाले आइतबार आयोगको बैठक राखेर आधिकारिकताबारे निर्णय गर्ने बताएका हुन् ।
प्रमुख निर्वाचन आयुक्तले आइतबार बैठक राखेर यस विषयमा निर्णय बताएको स्थायी समिति सदस्य राजेन्द्र पाण्डेको भनाइ छ । शुक्रबार पाण्डेसहित लीलामणि पोखरेल, रामनारायण बिडारी, कृष्णभक्त पोखरेल नेकपाको आधिकारिकता, नाम र चुनाव चिन्हको विषयमा निर्णय दिन भएको ढिलाइबारे ताकेता पत्र लिएर निर्वाचन आयोगमा पुगेका थिए ।
प्रचण्ड–नेपाल पक्षको बुधबार बसेको केन्द्रीय कमिटी बैठकले आयोगको कार्यशैलीप्रति आपत्ति जनाउँदै राज्यको कानुन, नेकपाको विधान, लोकतान्त्रिक प्रणाली र मान्यताबमोजिम तत्काल निष्पक्ष एवं न्यायसंगत निर्णय गर्नुपर्ने निष्कर्ष निकालेको थियो । प्रचण्ड-नेपाल पक्षले माघ २० गते आयोगमा बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाउँदै आधिकारिता आफूहरुले पाउनुपर्ने दाबी गरेको थियो ।