अमेरिकामा कोभिड–१९ बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम
वासिङ्टन । संयुक्तराज्य अमेरिकामा पाँच महिनापछि पहिलो पटक कोभिड–१९ बाट दैनिक संक्रमितको संख्या ४० हजारभन्दा कम पाइएको छ । खोप अभियान तिब्र बनाइएको अमेरिकामा अर्को चरणको संक्रमण फैलिने आशंका भइरहेको अवस्थामा नयाँ विवरणले अमेरिकी अधिकारीहरुलाई खुशी तुल्याएको छ । लकडाउन र अनेक किसिमका प्रतिबन्धबाट आम जनताको दैनिकी र देशकै अर्थतन्त्रमा नकारात्मक असर परिरहेको अवस्थामा पछिल्लो विवरण सार्वजनिक भएको हो ।
विश्वमै सबैभन्दा बढी असर परेको संयुक्तराज्य अमेरिकामा दैनिक संक्रमितको संख्या यसै वर्षको जनवरी महिनाका शुरुआती दिनहरुमा दैनिक तीन लाखसम्म पुगेको थियो । दैनिक संक्रमितको संख्यामा कमी र खोपको प्रयोग बढेसँगै अमेरिकाका धेरै राज्यले अनिवार्य मास्क लगाउने नियम हटाइदिएका छन् । तर राष्ट्रपति जो बाइडेनले यो सोचाई पुरातनपन्थी रहेको भन्दै आलोचना गर्नु भएको छ । राष्ट्रपति बाइडेनले आफ्नो १०० दिने कार्यकालमा १० करोड मानिसलाई खोप लगाइसक्ने घोषणा गर्नु भएको थियो । युरोपमा भने खोप अभियानमा ढिलाई भएको भन्दै आलोचना भइरहेको छ ।
युरोपेली औषधि नियामक निकायले रसियाले विकास गरेको स्पुतनिक भी खोपको सम्भावना बारेमा पनि अध्ययन भइरहेको जनाएको छ । यो खोप उपयुक्त देखिए युरोपमा स्पुतनिक भी खोपका लागि बाटो खुल्नेछ । रसियाले युरोपेली औषधि नियामक निकायले अध्ययन गर्ने जनाएसँगै आफूले युरोपका लागि तत्कालै ५ करोड डोज खोप उपलब्ध गराउन सक्ने बताएको छ । युरोपेली युनियनले यसअघि तीन किसिमका खोपलाई अनुमति दिइसकेको छ । तर केही मुलुकले आफूखुशी चीन र रसियाबाट खोप ल्याएर वितरण गर्न थालिसकेका छन् ।
युरोपमै खोप अभाव भएको जनाउँदै इटालीले अस्ट्रेलियातर्फ पठाउन लागिएको अस्ट्राजेनिकाको खोप लैजान रोकेको छ । युरोपेली युनियनले अस्ट्राजेनिकाले युरोपेली मुलुकलाई बेवास्ता गरेको आरोप लगाएको छ । अस्ट्रेलियाली स्वास्थ्य मन्त्रालयका प्रवक्ताले युरोपेली युनियनको निर्णयप्रति रोश प्रकट गरेका छन् । अस्ट्राजेनिकाले अस्ट्रेलियालाई २ लाख ५० हजार डोज खोप पठाउन लागेको थियो । विश्व स्वास्थ्य संगठनको युरोप शाखाले युरोपेली मुलुकमा कोरोना संक्रमण फेरि तिब्र हुन थालेको चेतावनी दिएसँगै युरोपमा खोपको महत्व र आवश्यकता अरु बढेको छ ।
सन् २०१९ को अन्त्यतिर चीनमा देखा परेको कोभिड–१९ को संक्रमणबाट हालसम्म २५ लाखभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ ।
दक्षिण कोरियामा पनि कोभिड संक्रमण संख्या घट्न थाल्यो
त्यस्तै गरेर दक्षिण कोरियामा पनि कोरोना भाइरस (कोभिड– १९) का संक्रमितको संख्या पछिल्लो समयमा केही घटेको छ । स्वास्थ्य अधिकारीहरूले संक्रमित हुनेहरूको संख्यामा पछिल्ला सातामा केही कमी आएको जनाएका छन्। प्राप्त समाचारअनुसार पछिल्लो २४ घन्टामा यहाँका ३८८ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । यो संख्या केही दिनयताको भने कम देखिएको छ । योसँगै संक्रमितहरूको संख्या ९१ हजार ६३८ जना पुगेको पनि बताइएको छ । कोरियामा पछिल्लो साता हरेक दिन संक्रमितको संख्या ४०० भन्दा तल झरेको छ । तर, यो संख्या ३०० देखि ४०० सम्म रहेको पनि बताइएको छ। गएको २४ घन्टामा यहाँ ३८८ जना संक्रमित थपिएका हुन्। उनीहरूमध्ये केही विदेशबाट आएका व्यक्ति हुन् ।
यसैगरी पछिल्लो २४ घन्टामा आठ जना व्यक्तिको मृत्यु भएको छ। योसँगै कोरियामा कोरोना भाइरस संक्रमणबाट ज्यान जानेको संख्या एक हजार छ सय २७ जना पुगेको छ । दक्षिण कोरिया सरकारले कोरोना भाइरस संक्रमण रोक्न प्रभावकारी काम गरेको भन्दै शुरुका दिनहरुमा भाइरसको संक्रमण बढेको थिएन ।
पछिल्ला हप्ताहरुमा भाइरसको संक्रमण बढेको भए पनि पछिल्ला केही दिनमा भने कम भएको देखिएको छ । दक्षिण कोरियाका स्वास्थ्यसम्बन्धी अधिकारीहरूले दिएको जानकारीअनुसार कोरोना संक्रमितमध्ये १.७८ प्रतिशतको ज्यान गएको बताइएको छ। सरकारले करिब ७० लाख नागरिकमा कोभिड संक्रमणको परीक्षण (पिसिआर) गराएको जनाएको छ ।