बीबीसीको मास्टर सेफ उपविजेता शाहलाई नाथमको सम्मान

काठमाडौं । बीबीसीको मास्टर सेफ उपविजेता सन्तोष शाहलाई नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले सम्मान गरेको छ।रविभवनस्थित नाथम परिसरमा बुधबार आयोजित विशेष समारोहमा साहलाई सम्मान गरिएको हो । प्रतियोगितामा साहले नेपाली खानाको परिकार पेश गरेर सबैको मन जितेका थिए । नाथममा विद्यार्थी र पदाधिकारीले उनको सम्मान गरेका थिए ।

नाथमका प्रमुख प्रशिक्षक मनराजा खत्रीले मास्टर सेफ साहले विश्वभर नेपालीको पहिचान दिलाएको भन्दै बधाई र आगामी दिनको लागि शुभकामना दिए । कार्यकारी निर्देशक दीपककुमार थापाले सेफ साहलाई प्रसंशा–पत्र तथा मायाको चिनो दिएर सम्मान गरे । विद्यार्थी, प्रशिक्षक र प्रतिष्ठानका पदाधिकारी खचाखच भरिएको नाथमका ‘मल्टिपर्पोज’ हलमा मास्टर सेफ साहले सम्बोधन गर्दै उनका जीवनका लामो अनुभव बाँडेका थिए । उनले बीबीसी मास्टर सेफ प्रतियोगिता नेपाली खानाको परिकार पेश गर्न पाउदा मातृभूमीको नाम विश्वसामू राख्न पाउदा अत्यन्तै गौरान्वित महसुस गरेको बताए ।

सेमिफाइनलसम्मको लक्ष्य राखेर प्रतियोगितामा भाग लिए पनि आफू फाइनलसम्म पुगेको उनले नेपाललगायत विश्वभरि छरिएर बसेको नेपालीको मन जित्न सफल भएको बताए । दुई दशक इन्डियन खानाको परिकार बनाएर इन्डियन सेफको रुपमा परिचित उनले जम्मा २ वर्षको अध्ययन अनुसन्धन र ज्ञान वटुलेर प्रतियोगितामा नेपाली परिकार तयार गरेर प्रस्तुत गरेका सुनाए । प्रतियोगितामा उनले नेपाली खानाको परिकारसंगै नेपाली भावना समेत पस्केको र यसले नेपालको हिमाल, पहाड र तराईको एकता र सद्भावालाई प्रतिनिधित्व गरेको उल्लेख गरेका थिए।

साहले नेवारी मौलिक परिकार योमरीलगायत तरूलको खाना, बेथेको साग, रोस्टेड काँक्रोको बिया, तामाको अचार, भेडाको मासु, सिस्नु र आलुको तरकारी प्रस्तुत गरेका थिए । उनले भाङको चट्नी, मकैको रोटी, प्याजको अचार, स्याउका अचारलगायत नेपाली खानाका परिकारहरू तयार पारेर प्रतियोगितामा प्रस्तुत गरेका थिए । उनले नाथम जस्तो सुप्रसिद्ध होटेल ब्यवस्थापन प्रतिष्ठानमा खुट्टा टेकेर अनुभव साट्न पाउँदा निकै हर्षित भएको बताएका थिए । कार्यक्रमपछि मास्टरसेफ साहले नाथमको ट्रेनिङ किचन, वेकरी, रेस्टुरेन्ट, डेमोन्स्ट्रेशन ल्याबका साथै मोडेल होटलको अवलोकन गरेका थिए ।

कार्यक्रममा आधुनिक नेपाली आतिथ्य (पर्यटन) क्षेत्रका लिजेण्ड सेफहरु पुष्प थापा, रामकृष्ण पन्त, केदार सिलवाल, रत्न थापा, गोविन्द नरसिङ केसी (गोदवा), कृष्णकाजी बस्नेत, पर्शुराम खड्का, सूर्यकिरण श्रेष्ठ, लक्ष्मण भण्डारीलगायतको उपस्थिति थियो । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ४८ वर्षअघि स्थापना भएको एक मात्र सरकारी शैक्षिक संस्था हो । होटल र पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ २०२९ सालमा स्थापना गरेको यो प्रतिष्ठानले होटल व्यवस्थापन तथा पर्यटन विषयमा स्नातकदेखि स्नातकोत्तर तहको शैक्षिक अध्ययन, अध्यापन तथा पर्यटनसम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ ।

हाल नाथममा बीएचएम, बीटीटीएम र एमएचएम तहमा करीब १६ सय जना विद्यार्थीहरु अध्ययनरत छन् ।

सभार- सेतोपाटी