देउवा र प्रचन्ड सहित एक सय ६५ सांसदले लगाए कोरोनाको खोप

देउवा र प्रचन्ड सहित एक सय ६५ सांसदले लगाए कोरोनाको खोप

काठमण्डौ । सरकारले बुधबारबाट सांसदलाई कोरोना खोप लगाउन थालेको छ । बुधबार एक सय ६५ सांसदले कोरोना खोप लगाएका छन् । संसद् सचिवालयले दिएको जानकारीअनुसार एक सय ६५ जना सांसद र तीन सय १७ जना अन्य कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मीलगायतले खोप लगाएका छन् । जम्मा चार सय ८२ जनाले बुधबार खोप लगाएको सचिवालयको भनाइ छ ।

खोप लगाउनुहुँदै प्रचन्ड

२३ फागुनदेखि प्रतिनिधिसभा बैठक सञ्चालन हुने भएपछि त्यसअघि संघीय संसद्का सांसद, कर्मचारीहरूलाई कोरोना खोप लगाइएको हो । २० र २१ फागुनमा पनि खोप लगाउने तय गरिएको छ ।

बुधबार सभामुख, सांसदहरूलगायतले खोप लगाए भने बिहीबार र शुक्रबार संघीय संसद्का कर्मचारीलाइ खोप लगाइनेछ । सभामुख अग्नि सापकोटासहित पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी लगायतले बुधबार कोभिडविरुद्धको खोप लगाए ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार कोभिड—१९ विरुद्धको खोप लगाएका छन् । निजामती अस्पतालमा देउवाले कोभिसिल्ड खोप लगाएका हुन् । राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसदले आजदेखि निजामति अस्पतालमा खोप लगाउन सुरु गरेका छन् । खोप अभियान तीन दिनसम्म जारी रहनेछ ।

खोप लगाउनुहुँदै देउवा

संसद सचिवालयका अनुसार दुबै सदनका ३३४ सांसद, सचिवालय र संसद भवनमा खटिने कर्मचारी समेत गरी १५ सयलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरिएको छ।