सेफ सन्तोष शाहलाई पर्यटन बोर्डबाट सम्मानित

काठमाडौं । बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके –२०२० को उपविजेता सन्तोष साहलाई नेपाल पर्यटन बोर्डले सम्मान गरेको छ । मंगलबार नेपाल पर्यटन बोर्डले साहलाई नेपाली खानाको माध्यमबाट संसारभर नेपाललाई चिनाएको भन्दै सम्मान गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले सन्तोषले अन्तर्राष्ट्रिय जगतमा नेपाली खाना चिनाउन सफल हुनुभएकोमा उहाँको योगदानप्रति मन्त्रालयको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले नेपाली खानालाई सबै होटल तथा रेष्टुरेन्टमा ब्रान्ड बनाएर अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवश्यकता रहेको र युनेस्कोमा समेत दर्ता गर्नुपर्ने बताउनुभयो ।

सेफ साहले नेपाललाई विश्व सामु चिनाउने कोसिस गरेको बताउनुभयो । सेफलाई पनि सम्मान गर्ने नेपाली संस्कार बसेको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो । खानाको क्षेत्रलाई प्राथमिकता दिन सके नेपाललाई धेरै राम्रो बनाउन सकिने साहको भनाइ छ ।

सिरहा जिल्लाको कर्जनाहामा जन्मिनुभएको साह लामो समयदेखि बेलायतमा बस्दै आउनुभएको छ । बिहिबार मात्रै काठमाडौं आउनुभएको उहाँलाई विमानस्थलमै पनि भव्य स्वागत गरिएको थियो ।