नेपाल विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस
काठमाडौं । नेपाल अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस भएको छ । संयुक्त राष्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिबाट नेपालसहित ३ मुलुक विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिसमा परेका हुन् । राष्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिले नेपाल, लाओस र बंगलादेशलाई विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरेको हो । संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएअनुसार समितिबाट भएको सिफारिसलाई संयुक्त राष्ट्रसंघ आर्थिक तथा सामाजिक परिषदबाट पारित हुनुपर्छ ।
अतिकम विकसितबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन कम्तिमा ३ क्षेत्रमा तोकिएको मापदण्ड पूरा गर्नु पर्छ । विकासशीलमा स्तरोन्नति हुन प्रतिव्यक्ति आय, मानव विकास सूचकाङ्क र आर्थिक जोखिम सूचकाङ्कमा तोकिएको मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । नेपालले प्रतिव्यक्ति आय बाहेक २ सूचकाङ्क (मानव विकास सूचकाङ्क र आर्थिक जोखिम सूचकाङ्क)मा तोकिएको मापदण्ड पूरा गरिसकेको छ ।
पछिल्लो समय २०७२ साल (सन् २०१५)को भूकम्प र कोरोना भाइरसको महामारीले नेपालको प्रतिव्यक्ति आयमा प्रभाव पारेको छ । अहिले स्तरोन्नतिका लागि सिफारिस भएका मुलुकले सन् २०२६ सम्म तोकिएका मापदण्ड पूरा गर्नुपर्ने सुविधा दिइएको छ । संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार सन् २०२२ मा विकासशील राष्ट्रमा स्तरोन्नति भएको अवस्थामा समेत नेपालले अल्पविकसित मुलुकका रुपमा पाइरहेको सुविधा सन् २०२६ सम्मै पाउने छ ।