२३ फागुनमा संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौं । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा बैठक फागुन २३ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को निर्णयबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डाक्टर शिवमाया तुम्बाहाम्फेले जानकारी दिइन् ।
प्रतिनिधि सभा पुनर्स्थापनापछि शुक्रवार पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । विहीबार साँझ प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्या भण्डारीसँग परामर्श गरेका थिए । प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गर्दै सर्वोच्च अदालतले गत मंगलबार १३ दिनभित्र बैठक बोलाउन आदेश दिएपछि मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको हो । सरकारको सिफारिसपछि राष्ट्रपतिले अधिवेशन आह्वान गर्नेछिन् ।