नाइजेरियामा सशस्त्र समूहद्वारा ३१७ विद्यार्थी अपहरण

कानो । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रबाट एक सशस्त्र समूहले शुक्रबार ३१७ विद्यार्थीलाई अपहरण गरेको प्रहरी पुष्टि गरेको छ । उक्त स्कुलको एक शिक्षकले शुक्रबार बिहान बन्दुकधारीले आक्रमण गरेपछि तीन सयभन्दा बढी छात्रा वेपत्ता भएको बीबीसीलाई बताएका थिए । अपहरित विद्यार्थीको खोजी भइरहेको बताइएको छ । प्रहरी प्रवक्ता मोहम्मद सेहुले एक विज्ञप्ति जारी गरी भन्नुभएको छ, “सशस्त्र समूहले विद्यालयलाई नियन्त्रणमा लिई एउटा माध्यमिक विद्यालयमा अध्ययन गर्ने कम्तीमा ३१७ छात्राहरूलाई अपहरण गरेको छ ।

विद्यार्थीहरू शुक्रबार समाचार तयार पार्दासम्म सम्पर्कविहीन बनेका छन् । जाम्फारा राज्यको प्रहरी कमाण्डले सेनाको समन्वयमा संयुक्तरूपमा खोजी तथा उद्धार कार्यलाई अघि बढाएको छ ।” स्थानीयका अनुसार एक आपराधिक सशस्त्र डाँकाहरूको समूहले उत्तरपश्चिम क्षेत्रको विज्ञान विषय पढाई हुने उक्त विद्यालयबाट विद्यार्थीहरूलाई अपहरण गरी लगेका हुन् । पछिल्ला वर्षहरूमा नाइजेरियामा डाँका समूहले विद्यार्थीलाई बन्धक बनाई लाने र फिरौती माग्ने, बलात्कार गर्ने र उनीहरूको महत्वपूर्ण सम्पत्ति लुट्ने गरेका घटनाहरू पटकपटक सञ्चारमाध्यममा आएका छन् ।

गत हप्ता पनि उक्त समूहले यही क्षेत्रबाट ४२ किशोरलाई विद्यालयबाट अपहरण गरेका थिए । गत डिसेम्बरमा पनि कन्कारा र राष्ट्रपति मुहम्मद बुहारीको गृहराज्य कात्सिनाबाट उहाँ त्यही राज्यमा भ्रमण गरिरहेका समय विद्यालयका करिब ३०० किशोरहरूलाई अपहरण गरेका थिए । दुई महिना पहिलेको उक्त अपहरणको केही समयपछि बिद्यार्थीहरु छोडिएको थियो । पछिल्लो केही साता यता नाइजेरियामा भएका अपहरणका घटनामध्ये यो सबैभन्दा ठूलो हो ।

शुक्रबारको घटना रातको करिब १ बजे भएको बताइएको छ । अपहरणकारीले सरकारी कर्मचारीले जस्तै कपडा लगाएको प्रत्यक्षदर्शीले बताएका छन् । उनीहरूले छात्राहरूलाई जबर्जस्ती गाडीमा राखेका थिए । आफ्ना छोरीहरू अपहरणमा परेपछि अभिभावकहरू चिन्तित बनेका छन् । अभिभावकहरू स्कुलबाहिर जम्मा भएका छन् भने केही जंगलमा खोज्‍न गएका छन् । बन्दुकधारीले आक्रमण गरेको स्कुलमा चार सय २१ जना छात्रा रहेका थिए, जसमध्ये ५५ जना सुरक्षित छन् । बाँकी सबैलाई बन्दुकधारीले अपहरण गरी लगेका छन् ।

पछिल्लो अपहरणबारे नाइजेरियाको संघीय सरकारको कुनै प्रतिक्रिया आइसकेको छैन ।

रासस\एएफपी