पोखरा अन्तराष्ट्रिय बिमानस्थल नजिकै रहेको रिठेपानी डाँडा ६ महिना भित्र कटान गर्न सरकारलाई निर्देशन

काठमाडौं । संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले पोखरा अन्तराष्ट्रिय विमानस्थल निकट रहेको रिठेपानी डाँडा ६ महिना भित्र कटान गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबारको बैठकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन तथा अवलोकनको क्रममा देखिएका समस्याहरूको सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गरेपछि ६ महिना भित्र विमानस्थलको दक्षिण पूर्वमा रहेको रिठेपानी डाँडा कटान गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो ।

समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेश गर्न समेत मन्त्रालयलाई निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, ‘आजको छलफलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निकट रहेको रिठेपानी डाँडा ६ महिना भित्र कटान गरी प्रगति विवरण समितिमा पेस गर्न निर्देशन दिने निर्णय गरियो ।’

समितिको बैठकले विमानस्थल भित्र निर्माण गर्न लागिएको नेपाल आयल निगमको डिपो निर्माण गर्ने कार्य पनि ६ महिना भित्र सम्पन्न गरी समितिमा जानकारी गराउन निर्देशन दिएको छ । सभापति भट्टले पोखरा महानगरपालिकाको ल्याण्डफिल्ड साइट सार्ने सम्बन्धमा समितिले महानगरपालिकासँग छलफल गर्ने निर्णय समेत गरेको जानकारी दिनुभयो ।

समितिले विमानस्थल निर्माणका बाँकी रहेका सबै काम समयमै सम्पन्न हुने अपेक्षा समेत गर्दै सबै काम छिटो भन्दा छिटो सम्पन्न गर्न सम्बन्धित सबै मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।