एमसीसीका कारण ओली समूह र कांग्रेसबीच गठबन्धन भई सरकार बन्न सक्छः नेकपा मसालको महामन्त्री सिंह

बुटवल । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेकपा ओली समूह र नेपाली कांग्रेसबीच गठबन्धन भई नयाँ सरकार बन्ने सम्भावना देखिने बताएका छन् । प्रगतिशील पत्रकार संघ रुपन्देहीले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुबै मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने पक्षमा रहेकाले यो सम्भावना देखिएको महामन्त्री सिंहले बताए ।

उनले कार्यक्रममा भने, ‘एमसीसी पारित गराउन ओली समूह र कांग्रेसको सरकार बन्ने सम्भावना छ । एमसीसी पारित भए नेपाल अमेरिकी सैन्य अखडा हुन्छ, त्यसैले पारित हुन नदिन त्यतातिर ध्यान दिनुपर्छ ।’ सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै नेपालमा भारत, अमेरिका लगायत विदेशी शक्तिको चलखेल बढ्ने सिंहले बताएका छन् । संसद विघटनले नेपालमा भारत–अमेरिका पक्ष बलियो र चीन पक्ष कमजोर भएको सिंहको विश्लेषण छ ।

प्रधानमन्त्री ओलीमा नैतिकता भए तत्काल राजीनामा दिनुपर्नेसमेत उनले बताएका छन् । ‘नैतिकता भए ओलीजीले राजीनामा दिनुपर्छ, तर अहिले उहाँमा नैतिकता देखिएको छैन ।’ साथै राजनीतिक अस्थिरताको कारक प्रधानमन्त्री ओली नै रहेको उनले बताए ।