चार चरणमा खुकुलो पारिने बेलायतमा जारी लकडाउन
लण्डन । बेलायत सरकारले लामो समयदेखि कायम गरेको लकडाउन क्रमशः खुकुलो बनाउने जनाएको छ । हिजो सोमबार सन्सदमा र बि.बि.सीबाट देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री बोरिस जोनसनले ४ चरणमा लकडाउन खुलाउने घोषणा गर्नुभएको हो ।
लकडाउन हटाउने सरकारी योजनाबारे प्रधानमन्त्री जोनसनले संसदलाई जानकारी गराइसकेको बीबीसीले जनाएको छ । नयाँ घोषणाअनुसार मार्च ८ देखि स्कुलहरु खुलाइनेछ । त्यस्तै, मार्चको २९ देखि पार्क, निजी बगैंचालगायतमा ६ जनासम्म वा दुई परिवारको जमघटलाई अनुमति दिइनेछ ।
टेनिस, बास्केटबल लगायत आउटडोर खेल स्थल पनि सुचारु गरिनेछ । अप्रिल १२ देखि दोस्रो चरणमा हाल बन्द रहेका अत्यावश्यक बाहेकका सबै पसलहरु खोल्ने र अत्याधिक जमघट हुने व्यवसाय पनि सुचारु हुनेछन् । त्यसपछि सर्वसाधारणको अत्याधिक जमघट हुने सार्वजनिक स्थलहरु खुला गरिनेछ । अन्तिम संस्कारमा ३० र वैवाहिक समारोहमा १५ जनासम्मको नियम भने कायम रहनेछ । तेस्रो चरणमा मे १७ देखि धेरै व्यवसायहरु खुल्नका साथै ‘सामाजिक सम्पर्क’ माथिका अधिकांश बन्देज हटाइने भएको छ ।
पब, रेष्टुरेन्ट लगायतको क्षेत्र पनि यही चरणमा सुचारु गरिंदैछ । यो चरणमा आउटडोर ६ जनासम्मको जमघट हुन सक्ने यसअघिको छुटलाई बिस्तार गर्दै ३० जनासम्मको जमघटलाई छुट दिइनेछ । खेलकुदका प्रतियोगिताहरुमा १० हजारसम्म दर्शक सहभागी हुन पाउनेछन् । यस्तै चौथो चरणमा जुन २१ देखि अहिले लागू सबै प्रतिवन्धहरु हटाइनेछ र बेलायत लकडाउनमुक्त हुने प्रधानमन्त्री जोनसनको योजना छ ।
अन्त्यमा उहाले मिती भन्दा पनि तथ्यान्क र परिस्थितीमा भर पर्ने र त्यसै अनुरुप अघी बढ्ने कुरा जानकारी गराउनु भएको थियो ।