अमेरिकामा उडिरहेको विमानमा आगलागी, ठुलो दुर्घटनाबाट जोगियो

एएफपी । अमेरिकामा उड्दै गरेको एउटा बोइङ ट्रिपल सेभेन विमान ठुलो दुर्घटनाबाट जोगिएको छ । डेन्भरबाट हवाईतर्फ उडेको युनाइटेड एयरलाइन्सको विमानको एउटा इन्जिनमा उड्नासाथ आगो लागेपनि पाइलटहरुले सकुशल अवतरण गराएका छन् । विमानको इन्जिनमा आगो लाग्न थालेसँगै विमानको बाहिरी भागबाट अवशेषहरु उछिट्टिएर भुँइमा खसेका थिए । अधिकारीहरुले विमानका चालकले आपतकालीन अवतरण गर्न विमानस्थलको टावरसँग सम्पर्क गरेर तत्कालै विमानलाई डेन्भर विमानस्थलतर्फ फर्काएका थिए ।

विमानभित्रका यात्रुले खिचेको तस्वीर एवं भिडियो हेर्दा उक्त बोइङ ७७७–२०० को दायाँतर्फको इन्जिनमा ठूलै आगोको मुस्लो देखिएको थियो । आगोका कारण इन्जिनको बाहिरी कभर खुस्किएर उछिट्टिएको थियो । आगलागी भइ इन्जिनमा भग्नावशेष सर्वसाधारणको घरमाथि झरेको थियो । विमानको भग्नावशेष ब्रूमफिल्डका एक बासिन्दाको घरको बगैँचामा खसेको प्रहरीले जनाएको छ ।

विमानमा सवार वा जमिनका कुनैपनि व्यक्तिलाई चोटपटक नलागेको अधिकारीहरुले बताएका छन् । विमानमा सवार यात्रु डेभिड डेलुसियाले डेन्भर पोस्टलाई प्रतिक्रिया दिँदै आफूहरुलाई एक पटक बाँच्छु भनेर आशा नै नभएको बताएका छन् ।

युनाइटेड एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दैै डेन्भरबाट होनोलुलुतर्फ उडेको विमानमा इन्जिनमा समस्या देखिएको तर विमानलाई सकुशल डेन्भर फर्काइएको जनाएको छ । विमानका पाइलटले ‘विमानको इन्जिनमा आगो लागेकाले तत्कालै फर्कन अनुमति पायौ” भन्दै टावरसँग सम्पर्क गरेका थिए । आगलागी भए पनि सो विमान डेन्वर विमानस्थलमा सुरक्षित रुपमा अवतरण गर्न सफल भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । विमानमा रहेका कोही पनि यात्रु घाइते भएका छैनन् । विमानमा २३१ जना यात्रु र १० जना चालक दलका सदस्य थिए ।