सेनाले सगरमाथा लगायत अन्य ५ हिमाल सफा गर्ने
काठमाडौं । नेपाली सेनाले हिमाल सफाइ अभियान सुरु गर्ने भएको छ । दुई वर्षअघि सगरमाथाको सफाइ गरेको नेपाली सेनाले यस पटक ६ वटा हिमाल सफा गर्ने भएको छ । सेनाले यसपालि सगरमाथा, ल्होत्से, पुमोरी, आमादब्लम, मकालु र धौलागिरि हिमालको सफाइ गर्न लागेको हो ।
यसबरे राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले जानकारी दिएका हुन । खड्काकाअनुसार सेनाले अभियानको अगुवाइ र संयोजन गर्नेछ भने नेपाल पर्यटन बोर्डसहित विभिन्न निकायसँग सहकार्य हुनेछ । सन् २०१९ मा सगरमाथाबाट ५ टन फोहोर संकलन गरेको सेनाले यसपटक ६ वटा हिमालबाट ३५ टन फोहोर संकलन गर्ने योजना बनाएको छ ।
सेनाले आगामी चैत ३१ गते आरोहण टोलीलाई ब्यानर हस्तान्तरण गरेर अभियानको शुरु गर्ने र २०७८ सालको जेठ २२ गते विश्व वातावरण दिवसको अवसरमा समापन गर्ने जनाएको छ । सफाइ अभियानमा वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पर्यटन बोर्ड, पासाङ ल्हामु गाउँपालिका, थासाङ गाउँपालिका, मकालु वरुण गाउँपालिका, नेपाल पर्वतारोहण सङ्घ, हिमालयन रेस्क्यु एसोसिएशन, सगरमाथा प्रदूषण नियन्त्रण समितिको सहकार्य रहने नेपाली सेनाले जनाएको छ ।
सेनाले नसड्ने फोहर हेलिकप्टर र गाडीमार्फत काठमाडौं ल्याएर फेरि प्रयोग गर्ने संस्थालाई हस्तान्तरण गर्ने पनि जनाएको छ। अभियानमा नेपाली सेनाका ४३ जना आरोही सदस्य र शेर्पालगायतका अन्य व्यक्तिको सहभागिता रहनेछ । सगरमाथामा मात्रै १ लाख ४० हजार टन फोहर, मानिसको शरीरबाट निस्किएको फोहर ४० टन ३ सय भन्दा बढी मृत शरीर रहेको अनुमान गरिएको सेनाको भनाइ छ ।
सफाइका लागि १२ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान रहेको बताइएको छ । जसमध्ये नेपाली सेनाको साढे दुई करोड र वन तथा वातावरण मन्त्रालयले १० करोड रुपैयाँ खर्च गर्नेछ ।