नासाको अन्तरिक्षयान मङ्गल ग्रहमा सफल अवतरण

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान मङ्गल ग्रहमा अवतरण गरेको छ । सात महिनाअघि जमिनबाट पठाइएको अन्तरिक्ष यान करिब आधा अर्ब किलोमिटर तय गर्दै शुक्रबार विहान मङ्गल ग्रहमा सफल अवतरण गरेको हो । नेपाली समयानुसार गएराति साढे २ बजेतिर ‘पर्सिभिअरन्स रोभर’ नामक यानले मङ्गल ग्रहको सतहमा अवतरण गरेको बीबीसीले जनाएको छ। मंगल ग्रहमा अवतरण गर्नासाथ सो यानले एक तस्वीर ट्वीट गरेको थियो । ‘पर्सिभरेन्स मार्स रोभर’ नाम दिइएको अन्तरिक्ष यान मङ्गल ग्रहको सतहमा अवतरण गर्नासाथ नासाको कन्ट्रोल रुममा रहेका वैज्ञानिकहरु खुसी भएका थिए । यो यानलाई मङ्गल ग्रहमा सफल अवतरण गराउनु नै सबैभन्दा ठूलो चुनौती ठानिएको थियो ।

यो सन् १९७० को दशकमा भाइकीङ मिसनपछि मङ्गल ग्रहमा जीवनको सम्भावनाबारे अध्ययन गर्ने नासाको सबैभन्दा महत्वाकांक्षी परियोजना हो, जसले मंगल ग्रहमा जीवनको संकेत खोजी गर्ने छ । एउटा कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू जडान गरिएको समाचारमा उल्लेख छ । यसले मंगल ग्रहमा सुकिसकेको एक खण्डहर पोखरी र अर्बौं वर्ष पहिले माइक्रो–अर्गानिज्मको कुनै पनि चिह्न वा गतिविधिको पनि अनुसन्धान गर्ने बीबीसीले जनाएको छ ।

खुशी मनाउदै बैज्ञानिकहरु

सफल अवतरणसँगै क्यालिफोर्नियास्थित कन्ट्रोल सेन्टरमा रहेका नासाका वैज्ञानिकहरूले खुशी मनाएका थिए । त्यसको केही समयमै रोभरले कैद गरेका मंगल ग्रहका तस्विर सार्वजनिक गरिएको थियो।