विद्यार्थीहरुले बनाइदिए गुरुका लागि घर

चितवन । खैरहनी नगरपालिका–१ मा रहेको कंकाली माविका पूर्वविद्यार्थीले आफूहरूलाई शिक्षा दिने शिक्षक गुरु पशुपतिलाल कर्णका लागि घर निर्माण गरिदिएका छन् । घर बनाउन कंकाली मावि पूर्व विद्यार्थी समाजले अभियान नै सञ्चालन गरेर सहकर्मीहरूसँग रकम संकलन गरेको थियो । स्वतस्फूर्तरुपमा पूर्वविद्यार्थीले रकम सहयोग गरेका थिए । त्यही विद्यालयमा लामो समयसम्म अध्यापन गराएका शिक्षक कर्णका लागि विद्यार्थीले ‘गुरु आवास’नाम दिएर सुविधायुक्त घर निर्माण गरेको पूर्वविद्यार्थी समाजका अध्यक्ष अर्जुन लम्सालले बताए ।

गुरु पशुपतिलाल कर्ण र उहाको धर्मपत्नी

घर निर्माणमा झण्डै २४ लाख रुपैयाँ खर्च भएको छ । चार लाख जिन्सीसहित २४ लाख रुपैयाँमा घर निर्माण गरिएको अध्यक्ष लम्सालले बताए । घरमा फर्निचरदेखि ‘वासिङ मेसिन’सम्म व्यवस्था गरिएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण घर हस्तान्तरणमा ढिलाइ भए पनि सरस्वती पूजाका अवसर पारेर उपहार प्रदान गरिएको अध्यक्ष लम्सालले बताए । शिक्षक कर्णको यहाँ आफ्नै घर छैन। कंकाली माविअगाडि शिक्षक आफैँले थोरै जग्गा खरिद गरे पनि घर निर्माण गर्न सकेका थिएनन्।

नयाँ घर मंगलबार सरस्वती पूजाका अवसर पारेर हस्तान्तरण गरिएको छ । नेपाली सिने क्षेत्रका महानायक राजेश हमालको प्रमुख आतिथ्यतामा एक समारोहबीच घर शिक्षक कर्णलाई हस्तान्तरण गरिएको थियो । यही अवसरमा महानायक हमालले विद्यार्थीहरूले नमुना काम गरेको भन्दै प्रशंसा गरे ।

‘शिक्षकप्रति पूर्वविद्यार्थीले देखाएको माया उत्कृष्ट छ’, महानायक हमालले भने । शिक्षक कर्णले नयाँ घर पाउँदा खुशीको सीमा नरहेको प्रतिक्रिया दिए । घर प्राप्त गरेपछि शिक्षक कर्णले खुशी व्यक्त गर्दै भने, ‘विद्यार्थीको यो कामको उच्च सम्मान गर्छु ।’