गैरआवासीय नेपाली संघले काठमाडौं महानगरपालिका वडा न १४ कलंकी चोकमा सार्वजनिक शौचालय निर्माण गर्ने
काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र काठमाडौं महानगरपालीका वडा नं. १४ का अध्यक्ष शोभा सापकोटाबीच संघले कलङ्की चोकमा निर्माण गर्न लागेको आधुनिक सार्वजनिक शौचालयका बिषयमा छलफल भएको छ । अध्यक्ष पन्तले सार्वजनिक शौचालय निर्माण जस्तो अतिआवश्यक कार्यमा समेत स्थानीयले अवरोध पुराएका र राजनीतिकरण गरेको विषयमा खेद प्रकट गरे । त्यस्तै, उनले सबै स्थानीयहरु बीच सहमति भई वडा कार्यालयमार्फत शौचालय निर्माणको लागि लिखित प्रतिवद्धता प्राप्त भएपछि मात्रै शौचालय निर्माण गर्ने बताए ।
अध्यक्ष पन्तले शौचालय निर्माण गर्न गाह्रो काम नभएता पनि त्यसको व्यवस्थापन र अन्तर्राष्ट्रिय स्तरमा सञ्चालन गर्न चुनौतीपूर्ण रहेकोले पाँच बर्षसम्म संघले व्यवस्थापन र सञ्चालन गर्न लागेको जानकारी दिए । यसै क्रममा वडा अध्यक्ष सापकोटाले पनि यस कार्यमा कसैले पनि विरोध गर्न नहुने र शौचालय निर्माण छिटो सम्पन्न गर्न वडा कार्यालय प्रतिवद्ध रहेको बताए । उनले शौचालय निर्माण गर्न वडा नं. १४ छनोट गरेकामा संघलाई धन्यवाद दिदै सबै अधिकारिक कामको जिम्मा वडाले लिने जानकारी गराए ।