स्कोटल्यण्डमा हुने जलवायु सम्मेलनमा नेपालबाट उच्चस्तरीय प्रतिनिधित्व गर्न आग्रह
बेलायत सरकारले कोप २६ (जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन)मा नेपालबाट उच्चस्तरीय प्रतिनिधित्वको सहभागी हुन र सहयोग गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । सम्मेलनका लागि अध्यक्ष तोकेका बेलायतको पूर्व रोजगार मन्त्री हाल सांसद आलोक शर्माले प्रधानमन्त्री केपी ओलीसँग बुधबार शिष्टाचार भेट गर्नुहुँदै उक्त आग्रह गरेका हुन् । सान्सद शर्मा नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डल दुईदिने भ्रमणका सिलसिलामा बुधबार नेपाल आएको हो ।
कोभिड– १९ का कारण रोकिएको सम्मेलन स्कोटल्याण्डको ग्लास्गो शहरमा आगामी १५–२६ कात्तिकमा आयोजना हुने तय भइसकेको छ । माघको पहिलो साता नेपालको लागि बेलायती राजदूत निकोला पोलिटले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटको क्रममा स्कोटल्याण्डमा हुने उक्त जलबायु सम्मेलनमा नेपालबाट उच्चस्तरीय प्रतिनिधित्वको अपेक्षा गरेको कुरा जानकारी गराएकी थिइन् ।
बुधबार भएको भेटमा प्रधानमन्त्री ओलीलाई अध्यक्ष शर्माले उक्त सम्मेलनमा बेलायत सरकारले नेपालबाट उच्चस्तरीय सहभागिता हुने अपेक्षा गरेको कुरा उल्लेख गरेका थिए । त्यसबारे कूटनीतिक च्यानलबाट छलफल गर्दै उपयुक्त समयमा टुंगो लगाउने प्रधानमन्त्री ओलीको जवाफ थियो । शर्मा पाँच सदस्यीय प्रतिनिधिमण्डलसहित बुधबार काठमाडौं आएका हुन् । शर्मा नेतृत्वको प्रतिनिधिमण्डले यसअघि अफ्रिका र युरोप भ्रमण गरिसकेको छ ।
उक्त प्रतिनिधिमण्डलले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको कुरा परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्तिमा नेपाल–बेलायत सम्बन्ध, जलवायु परिवर्तन, ऊर्जालगायत अन्य विषयमा सहकार्यबारे छलफल भएको थियो । सम्मेलनका अध्यक्ष शर्माले सम्मेलनको तयारी, प्राथमिकता तथा योजनाबारे प्रधानमन्त्री ओलीलाई जानकारी दिएका थिए । प्रधानमन्त्री ओलीले सम्मेलनमा नेपालको पूर्ण सहयोग र समर्थन रहने पनि जवाफ दिएका थिए ।