रेलवे महाप्रबन्धक गुरुप्रसाद भट्टराईले केपी ओलीको छोरा हुँ भन्दै अपहरण गर्ने धम्की
जनकपुर । प्रदेश-२ का प्रमुख तिलक परियारका स्वकीय सचिव अनिल पासवानलाई नेपाल रेलवेका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले अपहरण गर्ने धम्की दिएका छन् । प्रदेश प्रमुख परियारको निर्देशनमा रेलवे सञ्चालनका बारेमा जानकारी लिन खोज्दा महाप्रबन्धक भट्टराईले पासवानलाई गालीगलौज गरी अपहरणको धम्की दिएका हुन् ।
रेलवे सञ्चालनका सम्बन्ध जानकारी लिन खोज्दा महाप्रबन्धक भट्टराई आफु केन्द्रीय सरकार मातहत काम गर्ने भएकोले प्रदेश सरकारसँग छलफल नै नगर्ने भन्दै गाली गलौजमा उत्रेका छन् । सार्वजनिक भएको अडियो संवादमा महाप्रबन्धक भट्टराईले म रेलवेको महाप्रबन्धक हुँ बर्दिबास मेरो घर हो तिमीलाई एक घण्टामै अपहरण गराई दिन्छु भनेका छन् । दुवैबीचको चर्काचर्कीमा अश्लील गालीगलैजसमेत भएको छ । ‘म केपी ओलीको छोरा हुँ मलाई तिमी केही बिगार्न सक्दैनौ’ भट्टराईले भनेका छन् ।
संवादको क्रममा अपहरणको धम्कीपछि पासवानले पनि ज्यान मार्ने धम्की दिएका छन् । दुवैले एकअर्कालाई अश्लील गालीगलैज समेत गरेका छन् । अडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र ओलीको मान्छे भन्ने आरोप प्रत्यारोप पनि सुन्न सकिन्छ ।
करिब ४ मिनेटको सो अडियोमा चर्को आरोप प्रत्याआरोपमा उत्रिएका उनीहरुले राजनीतिक शक्ति र नेताको आडमा तिब्र आक्रोस पोखेको सुनिन्छ । महाप्रबन्धक भट्टराई प्रधानमन्त्री केपी ओली निकट हुन भने पासवान नेकपा अध्यक्ष पुष्पकमल दाहाल निकट हुन् । पासवान दाहाल-माधव पक्षका युवा संघका केन्द्रीय सदस्य समेत हुन् ।
स्रोत- ekagaj