ओलीकै ‘स्टाइल’मा प्रचण्ड-नेपाल समूहले मन्चबाट सोफा हटायो, सबैलाई एउटै कुर्सी

काठमाडौं । यतिखेर सभागृह चोकमा नेकपाको आन्दोलनरत पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको समूहले शक्ति प्रदर्शनका लागि तयारी गरिरहेको छ । सत्तारुढ दल नेकपाको दुवै खेमा एक अर्कालाई जित्ने गरी प्रदर्शनको होडबाजीमा छन् । त्यही क्रममा आज आन्दोलनरत नेकपाका कार्यकर्ता बिहानैदेखि सभास्थल बनाउन जुटेका हुन् । टुँडिखेललाई पछाडि पारेर बनाइएको स्टेजसँगै यसपाला प्रधानमन्त्री ओलीले गरेको सत्ताको शक्ति प्रदर्शनमा जस्तै डिस्प्लेहरु राखिएका छन् । केन्द्रीय संघर्ष समितिका प्रवक्ता योगेश भट्टराईले भने कुर्सी राख्दा नै सजिलो हुने हुँदा सोफा नराखिएको बताए । ‘सजिलो छरितो हुन्छ भनेर हामीले सोफाको सट्टामा कुर्सी राखेका हौं,’ केन्द्रीय संघर्ष समितिका प्रवक्ता भट्टराईले भने ।

अघिल्लो पटक मञ्चमा सोफा राखिएको विषय सोसल मिडियामा भाइरल भएकाले हुनुपर्छ यसपाला सोफा राखिएको छैन । त्यहाँ समानखाले कुर्सीहरु राखिएको छ । विद्युत प्राधिकरणको छेउमा एउटा डिस्प्ले राखिएको छ भने भद्रकाली र सभागृहको बिचमा अर्को अर्को डिस्प्ले। तेस्रो डिस्प्ले चाहिँ नेपाल पुलिस क्लबको अगाडि राखिएको छ । डिस्प्लेमा डिस होम मार्फत् प्रत्यक्ष प्रसारण गर्ने तयारी भएको छ ।

राजनीतिको यो मेलामा व्यापार गर्नेहरु बिहानैदेखि जुटिसकेका छन्। बदाम र सुन्तला तथा पुस्तक बेच्नेहरुले ठाउँ लिइसकेका छन् । साथै सडक किनारका रुखहरुमा सूर्य चिन्ह अंकित झन्डाहरु झुन्ड्याइएको छ । स्वयमसेवीहरुले टाउको रातो क्याप लगाएका छन् भने छातीमा प्रतिगमन विरुद्ध नारा लेखिएको कालो भोटो ।

अघिल्लो पटकको सभामा भन्दा यसपटक केही व्यवस्थित गरिएको देखिन्छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको सभामा जस्तो रेडियो सेट लिएर हिँड्ने स्वयम सेवक भने आज देखिएका छैनन् । सभास्थलमा प्रहरीको बाक्लो उपस्थिति छ ।

बुधबारको विरोधसभाका वक्ताहरूमा अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झॉक्री, रामचन्द्र झा, सन्तकुमार चौधरी, जनार्दन शर्मा, देव गरुङ, रघु पन्त, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् ।