चुनावको तयारीबारे छलफल गर्न प्रधानमन्त्री ओली निर्वाचन आयोगमा
काठमाडौं । नेकपा विवाद र निर्वाचनको तयारीबारे छलफल गर्न प्रधानमन्त्री ओली मंगलबार बिहान निर्वाचन आयोगको कार्यालय पुगेका हुन् । वैशाख १७ र २७ गते हुने चुनावको तयारीका विषयमा बुझ्न प्रधानमन्त्री, उपप्रधानमन्त्री, अर्थमन्त्रीसहित नेताहरू आयोग पुगेका छन् । मन्त्रिपरिषद्ले सोमवार गरेको निर्णयबारे जानकारी गराउन अर्थमन्त्री विष्णु पौडेलसहित प्रधानमन्त्री ओली आयोग पुगेका हुन् ।
यस अघि सरकारले (मन्त्री परिषदले) पहिलो चरणमा चारवटा प्रदेश र दोस्रो चरणमा तीनवटा प्रदेशमा चुनाव गर्नेगरी सोमवार निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ को चुनाव एकदिन पनि पर नसर्ने बताउँदै आएका छन् । अर्थमन्त्री पौडेल र नेकपा नेता सुवास नेम्वाङ ११ बजे नै आयोग पुगेका थिए ।
यसअघि आयोगले यही १६ माघमा नेकपाका दुवै पक्षलाई बोलाएकोमा दाहाल-नेपाल समूह गएपनि ओली गएका थिएनन् । दाहाल-नेपाल समूहले सोही दिन आयोगको कार्यालय पुगेर आधिकारिकताको दाबी गरेको थियो । नेकपाका दुवै समूहका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएकोमा आयोगले भने दुवै पक्षको दाबी नपुगेको जनाउँदै आएको छ ।
प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ गतेका लागि चुनाव घोषणा गरेकी थिइन् । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट सर्वोच्च अदालतमा विचाराधीन छ ।
प्रधानमन्त्री ओली मध्याह्न पौने १२ बजे निर्वाचन आयोग पुगेका हुन् ।