सामसुङको सञ्चालन नाफा दुई अंकले वृद्धि उता आइफोन प्रयोगकर्ताको संख्या एक अर्ब नाघ्यो
दक्षिण कोरियाको प्रविधि क्षेत्रको विशाल कम्पनी सामसुङ इलेक्ट्रोनिक्सको गत वर्ष सन् २०२० मा सञ्चालन नाफा दुई अंकले वृद्धि भएको जनाएको छ । सामसुङले नियामक निकायमा प्रस्तुत गरेको विवरणमा कोभिड–१९ को महामारीका बाबजूद कम्पनीले कारोबारमा व्यापक सुधार गरेको उल्लेख छ ।
सन् २०२० मा कम्पनीको सञ्चालन नाफा ३२ अर्ब ३० करोड डलर भएको र यो अघिल्लो वर्षको तुलनामा २९.६ प्रतिशतले बढी हो । कम्पनीको इतिहासमै यो चौथो सर्वाधिक बढी नाफा हो । यस्तै, सन् २०२० मा कम्पनीको कूल राजश्वमा २.८ ले वृद्धि भई दुई खर्ब १२ अर्ब डलर पुगेको छ ।
कोभिड–१९ का कारण अनलाइन कक्षाहरु र घरबाटै काम गर्नुपर्ने नियमका कारण पनि विद्युतीय सामानको खरिद व्यापक रुपमा बढेपछि नाफा पनि बढेको कम्पनीले जनाएको छ । यस्तो खरिद खासगरी सन् २०२० को पछिल्ला छ महिनामा व्यापक रुपमा वृद्धि भएको थियो । कोरोना महामारीका कारण सन् २०२० को पहिलो छ महिनामा विश्व अर्थतन्त्रमा शिथिलता आएका कारण विद्युतीय उपकरण खरिदमा पनि मन्दीको अवस्था थियो ।
त्यस्तै अर्को प्रख्यात फोन उत्पादक कम्पनी एप्पलले विश्वव्यापी बजारमा फेरी नयाँ रेकर्ड राखेको छ । एप्पलले हालै घोषणा गरेको एक सचूना अनुसार कम्पनीले आफ्नो पहिलो त्रैमासिकको कमाइमा रेकर्ड ब्रेक गरेको द भर्जले बताएको छ । अहिले संसारभर एक अर्ब ६५ करोड एप्पल उपकरणका प्रयोगकर्ता रहेको एप्पलका सिइओ टिम कुकको भनाइ छ। जसमा आइफोन, एप्पल म्याक, आइप्याड, एप्पल टि.भी, आइपोड र एप्पलको घडी परेको छ । द भर्जका अनुसार ती उपकरण मध्ये आइफोन बढी बिक्री भएको छ र यसको प्रयोगकर्ताको संख्या एक अर्ब पुगेको छ ।
सन् २०२० मा आइफोन प्रयोगकर्ताको संख्या ९० करोड थियो । नयाँ आइफोन १२ को बिक्री बढेसँगै यस वर्ष आइफोन चलाउनेको संख्या ९ प्रतिशतले वृद्धि भएको हो । ‘यो वर्ष चीनमा बढी बिक्री भएका शीर्ष तीन स्मार्टफोन मध्ये आइफोन दोस्रो स्थानमा परेको थियो,’ एप्पलका सिइओ टिम कुक भन्छन्, ‘कयौँले पुराना आइफोन फेरेर नयाँ आइफोन किनेको र एन्ड्रोइड प्रयोगकर्ताले आइफोन प्रयोग गर्न थालेको देखिन्छ। विश्वका हरेक भौगोलिक क्षेत्रमा एप्पलका प्रयोगकर्ताको संख्या बढिरहेको छ ।’
सन् २०१६ मा एप्पल उपकरणका प्रयोगकर्ता एक अर्ब थियो । यसैगरी सन् २०१८ मा सो संख्या एक अर्ब आठ करोडले बढेको थियो । विश्वव्यापी बजारमा आइफोनको चर्चा बढेसँगै हरेक वर्ष यसको बिक्री संख्या पनि थप हुँदै जाने छ । एप्पलका उपकरण जति बिक्री हुँदै गयो कम्पनीलाई आफ्नो आइक्लाउड स्टोरेज, एप्पल म्यूजिक, स्ट्रिमिङ भिडियो सर्भिस र अन्य एपको व्यवसाय पनि बढ्दै जाने द भर्जले लेखेको छ ।