नेकपाको दुवै पक्षले गरेका छुट्टा–छुट्टै दावीलाई निर्वाचन आयोगले मान्यता नदिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दाहाल–नेपाल र ओली दुवै पक्षले गरेका छुट्टा–छुट्टै निर्णयलाई निर्वाचन आयोगले मान्यता नदिने भएको छ । आयोगको आज (आइतबार) बसेको बैठकले दाहाल–नेपाल र ओली दुवै पक्षले गरेका दाबी नपुगेको निश्कर्ष निकालेको हो । बैठकले ओली र दाहाल- नेपाल समूहले गरेको फेरबदललाई नमान्ने निर्णय गरेको हो । दाहाल- नेपाल समूहले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ । ओली समूहले केन्द्रीय सदस्य थप गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को धारा २५ को ५ र ६, नेकपाको अन्तरिम विधान २०७५ र संविधानको धारा धारा २९९ बमोजिम निर्णय लिइएको आयोगले जनाएको छ । यसअघि निर्वाचन आयोगले नेकपाका दुबै समूहलाई आफ्नो दाबी सच्याएर प्रस्तुत गर्न सात दिने म्यादसहित पत्राचार गरेको थियो ।

ओली र दाहाल-नेपाल समूहले आफू आधिकारिक भएको भन्दै दर्ता गरेको निवेदन उपर छलफल गर्दै आयोगको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ मा प्रतिनिधिसभा विघटन भएसँगै दुबै समूह अलग–अलग भइ पार्टीका गतिविधिलाई तीव्रता दिँदै आएका छन्। दाहाल-नेपाल समूहले आफूहरुले नेकपाको मान्यता पाउनुपर्ने दाबी गरिरहेका छन् भने अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली समूहले पनि आफू नै आधिकारिक र मूल पार्टी रहेको र अर्को समूह फुटेर गएको दाबी गर्दै आएको छ ।

आयोगको आजको बैठकले दुवै पक्षले आफू खुशी गरेका निर्णयलाई मान्यता नदिने निर्णय गरेको बताइएको छ । दुबै पक्षले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत नदेखिएको बताइएको छ ।