भारतले दिएको कोरोनाविरुद्धको खोप नेपाल आइपुग्यो
काठमाडौं । भारत सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप काठमाडौं आइपुगेको छ । १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत आज विहीबार बिहान नेपाल आइपुगेको हो । अक्सफोर्डएस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिएको हो ।
भारतबाट प्राप्त कोभिसिल्ड खोप विमानस्थलमै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरे । प्राप्त खोप टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । नगर प्रहरीले स्कर्टिङ गरी खोप टेकुसम्म पुर्याउने छ । त्यसपछि स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ । स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ ।
पहिलो चरणमा खोप स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा खटिनेलाई उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयको तयारी छ । नेपालमा रहेका करिब १६ हजार खोप केन्द्रलाई परिचालित गरी खोप लगाउने व्यवस्था मिलाइएको छ । खोप आयातपछि पहिलो चरणमा जनसंख्याको ३ प्रतिशतलाई मात्र खोप लगाउने बताइएको छ ।
तोकिएका खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीलगायतलाई खोप दिइने मन्त्रालयले जनाएको छ ।