राष्ट्रपति ट्रम्पद्वारा पूर्व सल्लाहकार स्टिभ ब्यानन सहित ७३ जनाको सजाय माफ
वासिङटन । बहिरगमन हुँदै गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अपेक्षा गरे अनुरुप आफ्नो कार्यकाल सकिनैलाग्दा बुधबार ७३ जनाको सजाय माफ गर्नु भएको छ । सजाय माफ गरिएकामा ट्रम्पका पूर्व सल्लाहकार स्टिभ ब्यानन पनि हुन् । ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति ट्रम्पले ७३ जनाको सजाय माफ गर्नुका साथै अरु ७० जनाको सजाय कटौती गर्नु भएको छ ।”
उक्त सजायमा राष्ट्रपति र उहाँका बालबच्चाको नाम भने त्यसमा समावेश छैन । ब्याननमाथि मेक्सिको–अमेरिका सीमामा पर्खाल लगाउन भन्दै आम सर्वसाधारणसँग पैसा उठाएर दुरुपयोग गरेको आरोप लागेको थियो । मेक्सिको सीमामा पर्खाल लगाउने अभियान राष्ट्रपति ट्रम्पको पनि मुख्य चुनावी अभियान र नीति हो ।
राष्ट्रपति ट्रम्पले ब्याननको सजाय माफ गर्नुअघि ब्याननलाई फोन गर्नु भएको अमेरिकी संचार माध्यमहरुले बताएका छन् । यस्तै, राष्ट्रपति ट्रम्पका पूर्व सहयोगी इलिअट ब्रोइडी र गायक लिल वाइनेको पनि सजाय माफ भएको छ । अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले बुधबार नै अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ लिँदै हुन ।