कुवेतमा कार्यरत गोपाल गुरुङले आफ्नै गाउमा युवा स्वरोजगारको लागि २० लाख रुपैयाँ निर्ब्याजी सहयोग गर्ने घोषणा

काठमाडौं । कास्की जिल्ला मादी गाउँपालिका वडा न – ८ नागीधार ठुलो गाउँ घर भइ हाल कुवेतमा कार्यरत समाजसेवी गोपाल गुरुङले आफ्नो गाउँमा रहेका- बेरोजगार, बिदेशबाट फर्केका र गाउँमै केही गर्छु भनी बिदेश नगएका युवाहरुलाई २० वर्षका लागि २० लाख रकम निर्ब्याजी सहयोग दिने घोषणा गरेका छन् । नागीधार गाउँ परिसरभित्र सामुहिक रुपमा समूह दर्ता गरी विधि, विधान निर्माण गरेर ब्यापार ब्यबसायका लागि गाउँका युवाहरुलाई केही सहयोग एवं प्रत्सोहन होस् भन्ने उदेश्यले उक्त रकम आफुले निर्ब्याजीमा उपलब्ध गराउन लागेको कुरा गुरुङले बताउनुभयो । उनको अनुसार ‘सो गाउँमा बेरोजगार युवाहरु धेरै छन्, हाम्रो देश स्रोतसाधनले भरिपूर्ण छ, गाउँमै परिश्रम गरे युवाले त्यहि माटोमा सुन फलाउन सक्छन् । केहि गर्ने सोच हुँदाहुँदै पनि युवाले आर्थिक अभाबका कारण विदेश पलायन हुनुपर्नेसम्मको अवस्था नआओस् भनेर सहयोग गर्ने सोच बनाएँ ।’ घोषणा गरिएको उक्त रकम समितिले कार्य गर्न सुरु गरेपछि प्रदान गरिने उनले बताए । यसको जिम्मा गाउँकै बुद्धिजीवी, अग्रज व्यक्तिहरुलाई दिइएको उनले सुनाए ।

नागीधार सिर्जनशिल युवा क्लबका अग्रज सल्लाहकारसमेत रहेका गुरुङले यसअघि पनि नागीधार गाउँको विद्यालय, बालबालिकाहरुको नर्सरी स्कुल, युवा क्लबलाई खेलकुद सामाग्री साथै विकासमा सहयोग गर्दै आएका छन् । युवाहरु समुहमा आबद्ध भइ त्यहि समुहद्धारा निर्मित नीति, नियम निर्माण गरि बाख्रा फर्म, गाई भैसी भेडा फर्म, कुखुरा फर्म, माछापालन ब्यवसाय, तरकारी ब्यवसाय, अलैंची, कफि उत्पादन जस्ता ब्यवसायहरु आदि गर्न सक्नेछन् । उक्त प्रोजेक्टको सामुहिक ब्यबसायका लागि नागीधार गाउँका इच्छुक युवाहरुलाई निवेदन दिन नागीधार गाउँमा हालै टोल भेला आयोजना गरि आव्हान समेत गरिएको छ ।

समितिले नागीधार गाउँका बेरोजगार, बिदेशबाट फर्केका, गाउँमै केही गर्छु भनी बसेका युवाहरुले प्रोजेक्ट सहजीकरण उपसमितिलाई आफ्नो परिचय, ब्यबसायिक उदेश्य, सम्पर्क नम्बर सहित २०७७ पौष महिना भित्रसम्म निवेदन दिन भनेको छ ।

गोपाल गुरुङ बिगत २० बर्षदेखी कुवेतको एक प्रतिष्ठित कम्पनीमा कार्यरत छन् ।

स्रोत- hamrosanchar