कोरोना भाईरसको कारण संसारभर ६०२ जना पत्रकारहरुको मृत्यु
कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये विश्वभरी ६०० भन्दा बढी पत्रकारको मृत्यु भएको कुरा प्रेस स्वतन्त्रतासम्बन्धीको संस्था- एम्ब्लेम क्याम्पेन (पीईसी)ले जानकारी गराएको छ। सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा विश्वभरी कोरोनाका कारण ६०२ पत्रकारको मृत्यु भएको विवरण सार्वजनिक गरेको हो । तीमध्ये आधाभन्दा बढी अर्थात् ३०३ जना ल्याटिन अमेरिकी मुलुकका परेका छन् । त्यसैगरी एसियाका १४५ जना रहेका छन् भने युरोपका ९४ जना, उत्तर अमेरिकाका ३२ जना र अफ्रिकाका २८ जना रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।
देशअनुसार हेर्दा कोरोनाका कारण सबैभन्दा बढी पत्रकारको मृत्यु पेरुमा भएको देखिएको छ । पेरुमा ९३ जनाको मृत्यु भएको उल्लेख छ । दोस्रो धेरै ब्राजिलमा ५५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने भारतमा ५३ जना, मेक्सीकोमा ४५ जना र इक्वेडरमा ४२ जनाको मृत्यु भएको छ । त्यसैगरी बङ्गलादेशमा ४१ जना, इटलीमा ३७ जना र अमेरिकामा ३१ जनाको मृत्यु भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सो संस्थाले प्रतिवेदन सार्वजनिक गर्ने क्रममा पत्रकारहरु पनि अग्रपङ्क्तिमा हुने भएकाले उनीहरुलाई कोरोनाविरुद्धको खोपमा पनि प्राथमिकता दिन आग्रह गरेको छ ।