कोभिड–१९ नियन्त्रणका लागि फ्रान्स सरकारले १५ क्षेत्रमा रात्रिकालिन निशेधाज्ञाको समय थप

एजेन्सी । फ्रान्समा कोरोनाभाइरसको सङ्क्रमण दर बढ्दै गएपछि नियन्त्रणका लागि देशका विभिन्न १५ क्षेत्रमा रात्रिकालिन निशेधाज्ञाको घोषणा सरकारले आइतबार गरेको छ । सरकारले साविकको ८ बजेपछिको निशेधाज्ञालाई ६ बजेबाट सुरू गर्ने बताएको छ । कोरोनाका कारण बढी प्रभाभित मुलुकको भुमध्यसागरीय क्षेत्रस्थित प्रमुख सहर निस लगायतका स्थानमा यो नियम लागु हुनेछ ।

“फ्रान्समा कोरोनाभाइरसको फैलावटमा निरन्तरता देखिएको तर क्षेत्रगतरूपमा यसको प्रभाव कम र बढी रहेकोले बढी प्रभावित क्षेत्रमा साँझ ६ बजेदेखि नै अतिआवश्यक बाहेकका गतिविधिमा रोक लगाइएको छ,” सरकारका प्रवक्ता गाब्रियल अतलले नयाँ कदमबारे जानकारी गराउँदै भन्नुभयो । उहाँलाई उद्धृत गरी फ्रान्सको टीएफ–वनद्वारा प्रशारित समाचारमा भनिएको छ, “यदि निश्चित क्षेत्रमा अवस्था थप विग्रँदो भएमा हामीले आवश्यक निर्णय लिनेछौँ ।”

टीएफ–वनका अनुसार जर्मनी र फ्रान्सले गत हप्ताको अन्त्यमा कोभिड–१९ विरुद्धको खोप सर्वसाधारणको प्रयोगका लागि अनुमति दिएपनि अहिलेसम्म फ्रान्समा ३३२ जनाले मात्र खोप सेवा लिइसकेका छन् । जर्मनीमा भने खोप लिइसकेकाको सङ्ख्या एक लाख ३० हजार पुगेको छ ।

स्वास्थ्यमन्त्री अत्तलले फ्रान्सले खोप सेवालाई सुरूमा पाका व्यक्तिलाई केन्द्रित गरेको र सँगसँगै यसको जोखिमको प्रभावलाई समेत अध्ययन गरिरहेकोले सेवा केही ढिलो भएको बताउनुभयो । करिब ६ महिना चलाइने अभियानलाई केही दिनमा तुलना गरिहाल्न र यसबाट निष्कर्ष निकाल्नु गलत हुने उहाँको दावी थियो ।

फ्रान्समा कोभिड–१९ सङ्क्रमण भएकाको सङ्ख्या २६ लाख २० हजारभन्दा बढी पुगेको छ भने ६४ हजार ६३२ जनाको मृत्यु भएको छ । देशको राजधानी पेरिस तथा पेरिसपूर्वका क्षेत्रमा भने सङ्क्रमण नियन्त्रणका लागि अपनाइएको थप नियम बाध्यकारी हुनेछैन ।