मुकेश अम्बानीलाई उछिनेर चिनियाँ व्यापारी जङ शान्शान एशियाकै सर्वाधिक धनी व्यक्ति बने

खोप उत्पादन गर्ने फर्म र बोतलबन्द पानी बेच्ने कम्पनीको स्वामित्व भएका चिनियाँ व्यापारी जङ शान्शान मुकेश अंबानीलाई उच्छीन्दै एशियाकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । जङ शान्शानको सम्पत्ति यो वर्ष कुल सात अर्ब डलरले वृद्धि भयो । यससँगै उनले भारतका मुकेश अम्बानी र चीनका ज्याक मालाई पछी पार्दै एसिया कै धनी व्यक्ति बन्न सफल भएका छन् ।

ब्लूमबर्गको बिलीनेर इन्डेक्सका अनुसार कुल ७७.८ अर्ब अमेरिकी डलर बराबर सम्पत्तिसहित जङ संसारभरिका धनाढ्य व्यक्तिको सूचीमा ११ औँ स्थानमा पुगेका छन् । जङ शान्शान कुनै बेला पत्रकारिता, च्याउखेती र स्वास्थ्य क्षेत्रमा पनि संलग्न थिए । उनले खोप उत्पादन गर्ने फर्म बेइजिङ वान्ताई बायोलजिकलको शेअर गत एप्रिल महिनामा चीनको स्टक बजारमा सूचीकृत गराएका थिए। तीन महिनापछि बोतलबन्द पानी उत्पादन गर्ने कम्पनी नोङ्फु स्प्रिङ पनि हङ्‍कङको शेअर बजारमा पुग्यो ।

त्यसले उनलाई अलिबाबाका संस्थापक ज्याक माभन्दा माथि पुर्‍याइदियो । ज्याक मा त्यतिबेला चीन र एशियाकै सर्वाधिक धनी व्यक्ति थिए । त्यतिबेलादेखि नै नोङ्फु स्प्रिङ हङ्‌कङको शेअर बजारमा बलियो बनेर बसेको छ । पहिलो चोटि सार्वजनिक भएदेखि अहिलेसम्म त्यसको मूल्य १५५ प्रतिशतले बढेको छ । बेइजिङ बान्ताई बायोलजिकलको शेअरको मूल्य २,००० प्रतिशतभन्दा माथि पुगेको छ । उक्त फर्म कोभिड-१९ को खोप बनाउन संलग्न छ ।

स्रोत- बि.बि.सी नेपाली