यसवर्षको नेपाल लिटरेचर फेस्टिभल सम्पन्न
पोखरा– नवौँ संस्करणको नेपाल लिटरेचर फेस्टिभल सम्पन्न भएको छ । आइएमई नेपाल लिटरेचर फेस्टिभलको दोस्रो दिन अर्थात् अन्तिम दिन पोखराको सराङकोटमा गण्डकी प्रदेशका मुख्यमन्त्रीदेखि वातावरणविद्, साहित्यकार, व्यवसायी, पत्रकारसम्मले अन्तर्संवाद गरे । फेस्टिभलमा बुधबार पहिलो सत्रमा ‘जलवायु परिवर्तन र हाम्रो भविष्य’ शीर्षकमा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. महेश्वर ढकाल, वातावरणविद् डा.अरनिको पाण्डे र शिलशिला आचार्यसँग पत्रकार रमेश भुसालले संवाद गरे ।
दोस्रो सत्र ‘प्रदेशबाट देखिने देश’मा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग पत्रकार बसन्त बस्नेतले अन्तर्संवाद गरे। यो सत्रमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम एवम् परिदृश्यबारे गरमागरम बहस भयो । अर्काे सत्र ‘कोरोनाकालीन उद्योग वाणिज्य’मा पत्रकार कुवेर चालिसेले आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालसँग छलफल चलाए। यो सत्रमा विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाले नेपालको आर्थिक क्षेत्रमा पारेको प्रभाव र सरकारले चाल्नुपर्ने कदमका विषयमा चर्चा परिचर्चा भयो । साथै निजी क्षेत्रले कोभिड–१९ कै बीचमा गरिरहेका सकारात्मक प्रभावबारे पनि उनीहरुले संवाद गरे ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ र जिल्ला समन्वय समिति महासंघकी अध्यक्ष सीता सुन्दाससँग पत्रकार दीपक परियारले ‘संघीयताका अवसरहरु’ सत्रमा छलफल चलाए। यसका वक्ताहरुले देशमा संघीयता आए पनि त्यो प्रदेशहरुमा प्रभावकारी कार्यान्वयन नभएको बताए । फेस्टिभलको अर्को सत्र रह्यो, ‘क्वेर हुनुको अर्थ’। यो सत्रमा अनुवादक तथा लेखक निरञ्जन कुँवर र ब्लु डायमन्ड सोसाइटीका संस्थापक भिक्षु कश्यप (सुनिलबाबु पन्त) बीच संवाद भयो। यो सत्रमा उनीहरुले समाजमा क्वेर भएर जीवनयापन गर्नुका दुःख एवम् संघर्षबारे छलफल गरे।
‘युवाको नजरमा नेपाल’ सत्रमा अभियन्ता प्रकृति भट्टराई बस्नेत, चिकित्सक डा.भावना तामाङ र दृष्टिविहीन युवा अभियन्ता सौगात वाग्लेसँग लेखक तथा सामाजिक अभियन्ता जगन्नाथ लामिछानेले संवाद गरे । उनीहरुले अहिलेका युवाहरुले चाहेको नेपाल र भइरहेको अवस्थाबारे चर्चा गरे। साथै देशमा विकासका लागि गर्नुपर्ने र अपनाउनुपर्ने विषयमा पनि छलफल भयो । महोत्सवको अन्तिम सत्र थियो, ‘तीन आख्यान’। यो सत्रमा लेखक केशव दाहाल, दुर्गा कार्की र बिना थिङसँग शिवानीसिंह थारु प्रस्तुत भइन्। उनीहरुले नेपाली साहित्यमा आख्यानको अवस्था आदिबारे छलफल गरे। साथै पात्र, तिनको चरित्र, आख्यान लेखन आदिका विषयमा पनि उनीहरुबीच संवाद चल्यो ।
फेस्टिभलको नवौं संस्करणमा १५ भन्दा बढी सेसन र करिब ५० जना वक्ता सहभागी भए । भर्चुअल रूपमा गरिएका कारण यस पटक दर्शकको उपस्थिति भने थिएन।