प्रदेश ४ गण्डकीको मुख्यमन्त्रीले प्रचण्ड–माधव पक्षका मन्त्री नहटाउने

पोखरा । केन्द्रमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा विभाजन आएपछि त्यसको असर प्रदेश सरकारमा पनि देखिएको छ । वागमती र प्रदेश नम्बर १ का मुख्यमन्त्रीविरुद्ध प्रचण्ड–माधव पक्षले अविश्वास प्रस्ताव पेस गरिसकेको छ तर गण्डकी प्रदेशमा बलियो देखिएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रचण्ड–माधव समूहका मन्त्रीहरुलाई नहटाउने बताएका छन् ।

पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलको एउटा सत्रमा बुधबार भाग लिंदै मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले भने, ‘उहाँहरुले आफैं राजीनामा दिए मेरो केही लाग्दैन तर मैले उहाँहरुलाई हटाउँदिनँ ।’ गुरुङले आफू अझैं पनि पार्टी एकताको पक्षमा रहेकाले प्रचण्ड–माधव पक्षका मन्त्रीहरुलाई नहटाएको दावी गरे ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा तत्कालीन एमालेले २८ र माओवादीले जितेका १२ गरी नेकपाको एक्लै ४० सिट थियो । तत्कालीन एमालेका २८ मध्ये २७ जना सांसद अहिले पनि केपी ओली पक्षमा छन् ।

प्रचण्ड–माधव नेपाल पक्षका १३ मध्ये सभामुख नेत्रराज अधिकारीबाहेक १२ जना सांसद मात्र रहेकाले चाहेर पनि अविश्वास प्रस्ताव दर्ता गर्न सक्दैनन् । उनीहरुलाई नेपाली कांग्रेसको साथ चाहिन्छ ।

प्रदेशसभामा ३ सांसद रहेको राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई साथ दिनासाथ कांग्रेससँग मिलेर पनि प्रचण्ड–माधव पक्षले सरकार ढाल्न सक्दैन । त्यसैले अहिले अविश्वास प्रस्ताव ल्याउने तयारी नरहेको स्रोतले जनाएको छ। प्रदेशका गृहमन्त्री हरिवहादुर चुमान जो प्रचण्ड पक्षका हुन्, उनलेनै यही सरकार निरन्तर रहने बताएका छन् ।