युरोपियन युनियनले पनि बायोनटेक-फाइजर खोपलाई स्विक्रित
लण्डन । नेदरल्यान्ड्सको राजधानी एम्सटर्डमस्थित युरोपियन मेडिसिन एजेन्सीले सोमबार बायोनटेक फाइजरबाट उत्पादित कोरोना भाइरस विरुद्धको खोपको अनुमति दिएको छ । अब युरोपेली आयोगले यस निर्णयलाई औपचारिक रुपमा मान्यता दिने विश्वास गरिएको छ । यसका साथै युरोपेली संघमा आबद्ध २७ देशमा कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान छिट्टै सुरु हुने बताइएको छ । यो खोपलाई दुई साताअघि बेलायतमा र केही समयअघि अमेरिकामा आपत्कालीन स्वीकृति दिइएको थियो । यो खोप जर्मन कम्पनी बायोनटेक र अमेरिकी कम्पनी फाइजरले संयुक्त रुपमा विकसित गरेका हुन्। यद्यपि जर्मनीसहित युरोपेली युनियनमा आबद्ध देशहरुले मात्र यो खोप लिन ढिला गरेका छन् ।
युरोपियन मेडिसिन एजेन्सीले २९ डिसेम्बरमा यसबारे निर्णय लिने कार्यतालिका थियो। कोरोना महामारी तीव्र रुपमा फैलिएका कारण जर्मनी लगायतका केही देशले छिटो निर्णय गर्न दबाब दिएपछि एजेन्सीले चाँडै निर्णय गरेको हो । अब युरोपेली संघका देशका अगाडि ४५ करोड मानिसलाई यो खोप कसरी पुर्याउने भन्ने चुनौती खडा भएको छ। यद्यपि यी देशहरुमा अबको तीन चार दिनमै खोप अभियान सुरु हुने अपेक्षा गरिएको छ । बायोनटेक फाइजरको खोप माइनस ७० डिग्री तापक्रममा भण्डारण गर्नुपर्नेछ। युरोपका अधिकांश देशमा खोप लगाउने मापदण्ड तयार भइसकेको बताइएको छ। अधिकारीहरुका अनुसार आगामी जनवरीमा खोप अभियान तीव्र रुपमा अघि बढ्नेछ ।
युरोपमा लगाइने खोप फाइजरको युरोपस्थित प्लान्टबाटै आपूर्ति गरिनेछ। फाइजरको बेल्जियम र जर्मनीमा कारखाना छन् । युरोपियन मेडिसिन एजेन्सीले अमेरिकी कम्पनी मोर्डेनाको खोपलाई जनवरीसम्ममा अनुमति दिने विश्वास गरिएको छ। यति बेला दुवै खोपले अमेरिकामा आपतकालीन प्रयोगका लागि अनुमति पाएका छन् । युरोपियन युनियनका देश कोरोना भाइरस महामारीको दोस्रो चरणको सामना गरिरहेका छन्। जर्मनी, फ्रान्स, इटाली, स्पेन, निदरल्यान्ड्स र बेल्जियमज जस्ता देशमा यसअघिको भन्दा कोरोना महामारी तीव्र रुपमा फैलिएको छ ।
इसाई बहुल युरोपमा क्रिसमसमा सबैभन्दा बढी चहलपहल हुन्छ । तर यस पटक कोरोना भाइरसका कारण उल्लास देखिएको छैन ।