संसद बिघटनको सिफारिससँगै बैशाखमा मध्यावधि चुनावको प्रस्ताब
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्तावसँगै मध्यावधि चुनावको प्रस्ताव पनि राष्ट्रपति विद्यादेवी भण्डारीसँग गरेका छन् । मध्यावधि चुनाव वैशाखमा गर्ने प्रस्ताव गरे पनि मितिको विषयमा भने स्पष्ट जानकारी आइनसकेको स्रोतले जानकारी दिएको छ । वैशाख १५,२३ वा २९ गते मध्ये एक दिन वा दुई चरणमा चुनाव गर्नसक्ने प्रस्ताव राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीले गरेको स्रोतले जानकारी दिएको छ ।
यद्यपि प्रतिनिधिसभाको निर्वाचनबारे निर्वाचन आयोगसँग समेत परामर्श गर्नुपर्छ । संसद विघटनको प्रस्ताव लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका प्रधानमन्त्री ओली त्यहाँबाट फर्किसके पनि राष्ट्रपति कार्यालयले यसबारे आधिकारिक जानकारी सार्वजनिक गरिसकेको छैन ।