डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी र विजुलाई
हिमालय टेलिभिजनबाट हरेक हप्ताको शुक्रबार र शनिबार प्रशारण हुँदै आएको रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’ नेपाली संकरणको उपाधि सुमी मोक्तान र विजु पार्कीले जितेका छन् । शनिबार सम्पन्न भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले दर्शकको सर्वाधिक भोट पाउँदै उपाधी हात पारेका हुन् । उपाधीसँगै उनीहरुले २० लाख पुरस्कार समेत प्राप्त गरेका छन् । साथै विभिन्न उपहारहरु प्राप्त गरे ।
यस्तै, शोमा फस्ट रनरअपको उपाधि वुद्ध लामा र केविका गुरुङले प्राप्त गरे भने सेकेन्ड रनरअप भने प्रियना आचार्य र सुभम् भुजेल बन्न सफल भए । उनीहरुले पनि विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।
उपाधि जितेपछि प्रतिस्पर्धी सुमी मोक्तानले भनिन्–‘जबसम्म मान्छेले सपना पुरा गर्न छाड्दैन, तबसम्म सफलता हात लाग्छ । ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को विजेता बनेपछि मेरो करिअर नयाँ तरिकाले सुरु भएको छ ।’ सुमीका कोरियोग्राफर पार्टनर विजु पार्कीले सबैको माया, दर्शकको साथले यो उपाधि हात पारेको बताए । उनीहरुले नगद पुरस्कार भन्दा पनि दर्शकको माया ठूलो कुरा भएको बताए ।
यो शोमा निर्णायकको रुपमा गौरी मल्ल, दिलिप रायमाझी र रेनशा वान्तवा राई रहेका थिए । यो शोमा १२ जना स्टार प्रतिस्पर्धीहरुको सहभागीता थियो । १२ जना स्टार प्रतिस्पर्धी र उनीहरुको कोरियोग्राफर पार्टनरको डान्स प्रस्तुती दर्शकले हरेक हप्ता टेलिभिजनमा हेर्दै आएका थिए ।
विजेतालाई हिमालय टीभीका प्रमुख धर्मराज भुसालले ट्रफी प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख भुसालले भने–‘कोरोना महामारीको विचमा यो शो अगाडि बढाउने वा नबढाउने दोधार हामीमा थियो । तर, सबैको साथले हामी यो शो सफलतापूर्वक सम्पन्न गर्न सफल भएका छौ । हिमालय टीभीले आगामी दिनमा पनि दर्शकका लागि विश्वकै नम्बर १ रियालिटी शोहरु प्रशारण गर्दै जानेछ ।’
यो शोको समाप्तीसँगै हिमालय टेलिभिजनले ‘दि भ्वाइस अफ नेपाल–३’ प्रशारण गर्ने तयारी गरेको छ । अहिले यो शोको डिजिटल अडिसन चलिरहेको छ ।