प्रधानमन्त्री र प्रचण्ड बिच खुमलटारमा भेट बार्ता अर्का नेता बामदेभको पनि उपस्थिती

काठमाडौं, ४ पुस । सत्तारूढ नेकपाभित्र चुलिँदाे विवादलाई साम्य पार्ने नयाँ प्रयासस्वरूप खुमलटारस्थित नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’काे निवासमा छलफल सुरू भएकाे छ । पार्टी फुट्ने कि सहमतिमा फर्किने भन्ने दुई विकल्पमात्र बाँकी रहेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष प्रचण्डसँग छलफल गर्न खुमलटार पुगेका छन् । प्रधानमन्त्रीले शुक्रबार साँझकै भेटमा आफू निर्णायक छलफलका लागि शनिबार खुमलटार आउने आश्वासन प्रचण्डलाई दिएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओली प्रायः भेटवार्ताका लागि कुनै नेताको घरमा जाँदैनन् । उनी विपक्षी दलको नेता हुँदा पनि तत्कालीन प्रधानमन्त्री र अन्य शीर्ष नेताहरु बालकोटमै जाने गर्थे । पार्टी विवादको बीच एकपटक ओली वामदेव गौतमको निवासमा खबर नै नगरी गएका थिए । प्रचण्ड निवासमा प्रकाश दाहालको पहिलो वार्षिकीको दिन पुगेका थिए ।

ओलीनिकट एक स्थायी कमिटी सदस्यले भने– प्रचण्डले पटक–पटक तपाईं पनि मेरोमा आउनुस् न कहिलेकाहीँ भन्नुभएको थियो । हिजो प्रधानमन्त्रीलेनै म भोलि छलफल गर्न तपाईंकोमै आउँछु भन्नुभएको हो । यसबाट बुझ्नुस् कि प्रधानमन्त्री पार्टी एकता कायम गर्न कतिसम्म लचिलो बन्नुभएको छ भन्ने प्रष्ट हुन्छ ।

पार्टीमा दुवै अध्यक्षका अभियोग र प्रतिअभियोपत्र फिर्ता गराएर सहमतिमा फर्काउँन वामदेव गौतमसहित दोस्रो तहका नेताहरु सुवास नेम्वाङ, घनश्याम भुसाल, शंकर पोखरेल र योगेश भट्टराई सक्रिय रहेका बेला ओली प्रचण्ड निवासमै जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ । सचिवालयका नेताहरु ईश्वर पोखरेल, रामवहादुर थापा र महासचिव विष्णु पौडेल पनि दुबै आरोप–प्रत्यारोप फिर्ता गराएर दुई अध्यक्षको संयुक्त प्रस्ताव बैठकमा लैजान प्रयासरत छन् ।

साथै प्रधानमन्त्री पुगेकाे केहीबेर पछि नेकपा उपाध्यक्ष वामदेव गौतम पनि वार्तामा सहभागी हुन पुगेकाे प्रचण्डकाे निजी सचिवालयले जनाएकाे छ । यसअघि प्रायः प्रधानमन्त्री निवास, बालुवाटारमा नै दुइ अध्यक्षबीच भेट र छलफल हुने गरेकाे थियाे । तर यसपटक अध्यक्ष एवं प्रधानमन्त्री ओली प्रचण्डकाे निजी निवासमै पुग्नुले नेकपाभित्रकाे तनावकाे अवस्था र यसमा नेताहरूकाे सक्रियता कतिसम्म बढेकाे छ भन्ने कुरा प्रस्ट पार्छ । खुमलटारकाे भेट तथा छलफल सकारात्मक रूपले सुरू भएकाे स्राेतकाे भनाइ छ ।