हप्ताको दुई दिन बिदा कतिको प्रभावकारिता ?

कोरोनाभाइरस महामारीको चपेटामा परेको नेपालको पर्यटन क्षेत्रलाई उकास्न र सरकारी खर्च कटौती गर्नका लागि भन्दै साताको दुई दिन बिदा दिन सिफारिस गरिएसँगै यस विषयमा विभिन्न किसिमका टीकाटिप्पणी भइरहेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको एउटा अध्ययन समितिले सुरुमा सरकारी तथा सार्वजनिक निकायहरूका हकमा गरेको सिफारिसको कतिपयले खुलेर समर्थन गरेका छन् भने अन्य केहीले भने विगतमा प्रयोग गरीसकिएको व्यवस्थाको खासै सान्दर्भिकता नहुने बताइरहेका छन् । नेपालमा २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले काठमाण्डू उपत्यकाका सरकारी कार्यालयहरूमा शनिवार र आइतवार गरी साताको दुई दिन बिदा दिने निर्णय गरेको थियो तर काठमाण्डूमा मात्रै लागु गरिएको उक्त व्यवस्था अव्यवहारिक भएको भन्दै पछि कटौती गरियो । सरकारी र निजी क्षेत्रले साताको दुई दिन बिदा दिए करिब ७० देखि ८० लाख मानिसहरूले बिदा पाउने र त्यसको करिब १० प्रतिशत मानिस मात्रै एक दिन घुमफिरका लागि निस्कने अवस्था आयो भने करिब सात देखि आठ लाख मानिस घर बाहिर निस्कने सरकारी आकलन छ । अहिले साताको छ दिन लगाएर ४० घण्टा काम गर्ने वातावरण छ। त्यहीँ ४० घण्टा विश्वका अन्य विभिन्न मुलुकहरू जस्तै पाँच दिनमा गरौँ भन्ने हो, उनले भने । काम र आरामको सन्तुलन मिलाउने अन्तर्राष्ट्रिय अभ्यास अनुसार नै काम गर्ने गरी प्रस्ताव गरिएको अधिकारीहरूको भनाई छ ।अध्ययन गरिएका १२७ देश मध्य ८८ प्रतिशत भन्दा बढी देशहरूमा हप्ताको दुई दिन बिदा दिने र हप्ताको ४० घण्टा काम गर्ने व्यवस्था देखिएको बताइएको छ । “सार्क राष्ट्रहरूकै हकमा हेर्दा पनि नेपाल बाहेकका देशमा हप्तामा दुई दिन बिदा दिने व्यवस्था रहेको पाइयो,” उनले भने । मुलुक सङ्घीयतामा गएर वडाहरूबाटै काम हुने अवस्थामा विगतमा जस्तो सेवाग्राही मर्कामा पर्ने अवस्था पनि नरहेको अधिकारीहरू बताउँछन्।

आर्थिक पाटो

सरकारी र सार्वजनिक कार्यालयहरूमा हप्तामा ५ दिन कार्यालय जाँदा कार्यालयका सवारी साधन, इन्धन, बिजुली र पानी जस्ता बस्तुको खपत उल्लेख्य रूपमा कटौती गर्न सकिने देखिएको अधिकारीहरू बताउँछन् । “एक दिन कार्यालय कम गइयो भने त्यस्तो खर्च १६ देखि २० प्रतिशतसम्म घटाउन सकिने रहेछ,” उनले भने ।  “त्यो भनेको वर्षमा करिब १.५ अर्ब रुपैयाँ भन्दा बढी बचाउन सकिने अवस्था देखियो ।” बिदा र आर्थिक विकास वा उत्पादकत्वको सम्बन्ध कस्तो छ भनेर हेर्दा ६ दिन लगाएर गरिने काम ५ दिनमा गर्दा झन् कार्यकुशलता देखिने पाइएको भट्टराईको भनाई छ।

अन्य देशसँग तुलना

नेपालमा चाड पर्व लगायतका बिदा समेत धेरै रहेको अवस्थामा दुई दिन बिदा दिँदा काम गर्ने समय प्रभावित हुने कतिपयको बुझाइ रहे पनि सरकारी अध्ययनको निचोड भने फरक छ । हप्तामा दुई दिन बिदा हुनासाथ हाल वर्षको ५२ दिन साप्ताहिक बिदा हुनेमा बढेर १०४ दिन पुग्ने छ । विभिन्न देशको अवस्था हेर्दा औसत २२ देखि २५ दिन अन्य किसिमका बिदा हुने गरेको पाइएको भट्टराई बताउँछन् । उनका अनुसार नेपालमा पनि साप्ताहिक बाहेक सबैलाई हुने खाले करिब २० देखि २२ दिन बिदा हुने र करिब ८ देखि १० दिन क्षेत्रीय, जातीय वा महिलाहरूले मात्रै पाउने खाले बिदा हुने गर्छ । “यसरी हेर्दा दुई दिन बिदा दिँदा समेत हामी अन्तर्राष्ट्रिय प्रचलन भन्दा धेरै बिदा दिने देशमा पर्ने रहेनछौँ,” उनले भने ।

के भन्छन् विज्ञ?

प्रशासनविद् काशीराज दाहाल विश्वका ठूला महानगरहरूमा हप्ताको दुई दिन बिदा दिने प्रचलन रहेको बताउँछन् । सहरमा राज्यको काम गर्न दुई दिन बाहेक अन्य दिन कर्मचारी पूर्ण रूपमा क्रियाशील हुनुपर्छ र दुई दिन चाहिँ घर गएर उनीहरूको व्यवहार पनि सम्पन्न होस भन्ने हिसाबले बिदा दिइने गरेको बताउँछन् । सँगसँगै आन्तरिक पर्यटन प्रवर्धन हुने अनि राज्यको पनि इन्धन लगायतका कुराहरूमा बचत हुने हुँदा यो व्यवस्था लाभदायी हुने विभिन्न मुलुकहरूको अध्ययन र अनुभवहरूले देखाएको उनी बताउँछन् । 

“त्यस हिसाबले हेर्दा यो राम्रो हो। तर सँगसँगै हामीले के ख्याल गर्नुपर्छ भने दुई दिन बिदा दिइसकेपछि बाँकी दिनमा कर्मचारीहरूले प्रभावकारी रूपमा काम गर्नुपर्छ। समयमा नआउने, चाँडै हिँड्ने काम भयो भने चाहिँ लाभ हुँदैन,” दाहालले भने । दुई दिन बिदा दिइएको अवस्थामा राम्रोसँग अनुगमन गरिनुपर्ने उनी बताउँछन् । “विगतमा पनि यो अभ्यास गरिएको हो। त्यसका राम्रा, नराम्रा दुवै पक्ष थिए। अब हामीले प्रारम्भ गर्दा विगतको अनुभव हेरेर, अन्तर्राष्ट्रिय अनुभव मध्यनजर गरेर, जिम्मेवारी तोकेर अनुगमन गर्ने र सुपरिवेक्षण गर्ने वातावरण तयार गरेर यो व्यवस्था लागु गर्ने सक्यौ भने उपयोगी हुन सक्छ,” उनले भने ।

राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने र काम गर्न नसक्नेलाई दण्डित गर्ने पद्धति र प्रणालीलाई अघि लान सके मात्रै दुई दिने बिदाले अपेक्षा गरिए अनुसार प्रतिफल दिने दाहालको भनाई छ ।

स्रोत- बि.बि.सी नेपाली