टेबलटेनिस खेलाडीका लागि ३२ लाख सहयोग
२४ मंसिर, काठमाडौं । स्जिरल्याण्डका राष्ट्रिय प्रशिक्षक पावेल रेहोरेकले नेपालका टेबलटेनिस खेलाडीहरुका लागि ३२ लाख बराबरको सहयोग गर्ने भएका छन् ।
पावेलले एभीएमका टेबलटेनिस खेलाडीका लागि उक्त रकम खर्च गर्न लागेको प्रशिक्षक पुरुषोत्तम बज्राचार्यले जानकारी गराए । पावेलले हालै प्रतिष्ठित स्याफहौजर पुरस्कार (Schaffhauser prize for development cooperation 2020) जितेका हुन् । यो पुरस्कार सामाजिक तथा खेलकुदको विकासको विकासमा गरेको योगदानको मुल्याङकनको आधारमा प्रदान गरिन्छ । उक्त पुरस्कारबाट प्राप्त हुने २५००० स्विस फ्रान्क (३२ लाख नेपाली) नेपालमा टेबलटेनिस खेल विकासका लागि पावेलले खर्च गर्न लागेका हुन् । पावेलको यो एभीएम स्कुलका खेलाडीहरुका लागि चौथो पटकको सहयोग हो । पावेलको सहयोगले एभीएमका स्कुलका खेलाडीहरुको स्तरोन्नतीमा निकैनै ठूलो मद्धत मिलेको प्रशिक्षक बज्राचार्यले बताए ।
यो रकम एभीएममा टेबलटेनिस हल निर्माणमा खर्च गर्नका लागि प्रदान गर्न लागिएको हो । प्राप्त रकम हलमा सुविधा युक्त चेन्जिङ्ग रुम, ट्वाईलेट, जिमहल, इन्जुरी रिकभरीका लागि फिटनेश ट्रेनर राख्ने, हलभित्र प्रोफेसनल लाइटिङ्ग सिस्टम, फल्स सिलिङ्ग, कपबोर्ड तथा बाहिर प्रशिक्षणका लागि ३ वटा टेबलटेनिस बोर्डका लागि खर्च गर्न लागिएको हो । जसका लागि सम्पूर्ण डिजाइनहरु तयार भइसकेको र अर्को हप्तादेखि काम सुरु हुने प्रशिक्षक बज्राचार्यले बताए । यस सहयोगले एभीएमका खेलाडी मात्र नभई भविष्यमा प्रतिभावान खेलाडी उत्पादन गर्न समेत सहयोग पुग्ने प्रशिक्षक बज्राचार्यको विश्वास रहेको छ ।
जति धेरै सुविधा खेलाडीहरुले प्राप्त गर्नेछन् त्यतीनै सफलता पाउने पावेलको भनाइ रहेको छ । भविष्यमा पनि नेपाली राष्ट्रिय प्रशिक्षकहरुलाई प्रशिक्षण प्रदान गरि स्तर बृद्धि गर्ने र नेपालमा टेबलटेनिस खेलको विकास गर्ने उनको सोच रहेको छ । राष्ट्रिय खेलाडीहरुले पनि नपाएको सुविधाहरु पाउने भएबाट एभीएमका खेलाडी विद्यार्थीहरु निकैनै हर्षित तथा उत्साहित भएका छन् । जुन नेपाल मा टेबलटेनिस बिकासका लागि निकैनै ठुलो कुरा भएको प्रशिक्षक बज्राचार्यले बताए ।
यसअघि पनि पावेलले एभीएमका टेबलटेनिस खेलाडीहरुका लागि सहयोग गर्दै आइरहेको प्रशिक्षक बज्राचार्यले बताए । श्रीलङ्काको भ्रमणका क्रममा पावेलको बारेमा जानकारी प्राप्त भयो त्यस पछि सामाजिक संजाल मार्फत सम्पर्क गरि स्कुलका बच्चाहरुलाई प्रशिक्षण दिन अनुरोध गर्दा उहाँले त्यसलाई स्विकार्दै २०१७ मा नेपाल आगमन गरेको र स्कुलका खेलाडी विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गरको थिए – प्रशिक्षक बज्राचार्यले बताए ।
बज्राचार्यका अनुसार प्रशिक्षणका क्रममा स्कुलका खेलाडीहरुले खाल्टाखुल्टी भएको भुईमा साधारण प्लाइउडको टेबलमा ईंट्टाको नेट बनाएर खेलेको देखेर सहयोग गर्ने ईच्छा जागी स्वदेश फर्के पश्चात १ लाख बराबरको नेट, बल र र्याकेटको रवर पठाई दिएका थिए । यस्तै पावेलले २०१८ मा ३ हजार डलर बराबरको ४ वटा प्रोफेसनल बोर्ड, बल र रवर प्रदान गरे । २०१९ मा ३ हजार डलर बराबरको अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा प्रयोग हुने म्याट प्रदान गरेको बज्राचार्यले जानकारी गराए ।
पावेलले नेपाल भ्रमणका समयमा राष्ट्रिय खेलाडी तथा प्रशिक्षकहरुलाई प्रशिक्षण प्रदान गर्दै आईरहेका छन् । यस पटक पनि नेपालको भ्रमण गर्ने कार्यक्रम रहेकोमा विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ कारण उनको नेपाल भ्रमण स्थगित भएको प्रशिक्षक बज्राचार्यले बताए ।
स्रोत- OnlineKhabar