एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

काठमाडौं : नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज दिउँसो बस्दैछ । एमालेका महासचिव शंकर पोखरेलका अनुसार दिउँसो १ बजे कार्की ब्यांक्वेटमा ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक बोलाइएको हो ।

बिहीबार अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ गराएका थिए। एमालेको महाधिवेशनले विधान संशोधन गर्दै १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ। ११ औं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि ओली निर्वाचित भएका छन्। उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ (१,७३७),विष्णुप्रसाद पौडेल (१,६७५), रामबहादुर थापा(१,५१६), गोकर्णराज विष्ट (१,३६८) र रघुजी पन्त (१,२५८ मत ल्याएर) विजयी भए ।

महासचिवमा शंकर पोखरेलले सुरेन्द्र पाण्डेलाई २२९ मतान्तरले पराजित गरे। ओली र पोखरेलका प्यानलै बनाएर निर्वाचनमा दुई समूह होमिएका थिए। ओली समूहबाट महासचिवमा निर्वाचित पोखरेलले १,२२८ मत ल्याए। पोखरेल समूहका पाण्डेले ९९९ मत ल्याएका थिए।
उपमहासचिवमा लेखराज भट्ट (१,४५२),रघुवीर महासेठ (१,३६८) र योगेश भट्टराई (१,३४८) मत पाएर निर्वाचित भए। उपमहासचिवमा निर्वाचित भट्टराई मात्रै पोखरेल समुहका हुन्। भट्ट र महासेठ ओली प्यानलका हुन्।

त्यस्तै, सचिवमा सर्वाधिक मत ल्याएर महेश बस्नेत विजयी भए। बस्नेतले १,५४४ मत ल्याए। त्यस्तै पद्माकुमारी अर्याल (१,५३०), छविलाल विश्वकर्मा (१,५०६), शेरधन राई (१,५०३), हिक्मतकुमार कार्की (१,३३७), खगराज अधिकारी (१३३१), यमलाल कँडेल (१,१८५), राजन भट्टराई (१,१८१) र भानुभक्त ढकाल (११०८) मतसहित सचिवमा विजयी भए ।