भब्य सम्पन्न भयो ताङतिङ नौचु पैंगीलम भाइखलक यूकेले दोस्रो भेटघाट तथा चेलीबेटी सम्मान कार्यक्रम

फ्लीट । गत अक्टोबर १२ तारिख २०२५ साल आइतबार ताङतिङका नौचु पैंगीलम भाइखलक यूकेले परिवारको दोस्रो भेटघाट तथा चेलीबेटी सम्मान कार्यक्रम २०२५ गत बर्षकै कार्यक्रम स्थल क्रुकह्याम मेमोरियल हलमा भव्य सम्पन्न गरेको छ । ताङतिङ नौचु पैंगीलम भाइखलक यूकेका अध्यक्ष क्याप्टेन गौबहादुर गुरुङ एमबीईज्युको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रमको सामुदघाटन ज्येष्ठ आमा सुलामय गुरुङ, चेली श्रीमती सीता गुरुङ, संरक्षक मेजर बालासिङ गुरुङ तथा सल्लाहकार आसबहादुर गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरी शुरुवात गर्नुभएको थियो । दीप प्रज्वलन संगै संरक्षक मेजर बालासिङ गुरुङले शुभकार्य गर्दाको मन्त्र उद्दरण गर्नुभएको थियो । लगत्तै, उपाध्यक्ष बखत गुरुङले भाइखलकको तर्फबाट उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो ।

औपचारिक कार्यक्रम शुरु भएसंगै ताङतिङका नौचु पैंगीलम भाइखलक यूकेको तर्फबाट उपस्थित छोरी ज्वाइँहरुलाई (चेलीबेटीहरु र ज्वाइँहरुलाई) खाता लगाई भव्य स्वागत गरिएको थियो । त्यस्तै, कार्यक्रममा नेपालबाट पारिवारिक भ्रमणको लागि हाल बेलयात आउनुभएका भाइखलकहरु- पैंडी जस बहादुर गुरुङ तथा उहाँको श्रीमती शिरमाया गुरुङ, कलाकार सुबेदार मंत्रीजंग गुरुङ तथा उहाँको धर्मपत्नी, कुमान सिंह (गणेश) गुरुङ तथा उहाँको श्रीमती राधा गुरुङ, श्रीमती फुलाकाशी गुरुङलाई बेलायतमा स्वागत गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा यस बर्ष बिबाहित हुनुभएका, पदोन्नती हुनुभएका, नया सन्तान प्राप्त गर्नुभएका, नयाँ घर किन्नुभएका र ग्राज्युएट गर्नुभएका सदस्यहरु र परिवारजनलाई भाइखलकको तर्फबाट बधाई तथा शुभकामना दिएको थियो ।

कार्यक्रममा चेली योगा गुरुङले आफु सानो हुँदा स्वर्गिया मुवालाई उहाँको बाबा माइतीले दशैँको भात “रि चमी कै” खाना बोलाउँदाको क्षण स्मरण गर्नुहुँदै अहिले आफ्नो पनि पालो आउँदा अत्यन्तै खुशी लागेको र आत्मियता बढेको कुरा सनाउनु हुँदै आफैंले रचेको कविता वाचन गरेकी थिइन् । त्यस्तै चेलीबेटीहरुले स्वादिष्ट भोजन तथा सम्मानको लागि बाबा माइतीलाई धन्यवाद दिनुहुँदै चेलीबेटीहरुले ल्याएको कोसेली बाबामाइतीलाई हस्तान्तरण गरिएको थियो भने बाबा माइतीले पनि चेलीहरुलाई धन्यबाद स्वरुप स्युला प्रदान गरेको थियो ।

त्यस्तै कार्यक्रममा छोरी प्रतिक्ष्य गुरुङ र भान्जी श्रृष्टी गुरुङले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् भने सधैको जस्तो महिला सदस्य द्वय- श्रीमती पदममाया गुरुङ तथा ननसुबा गुरुङले जोकर अर्थात् हसाउने नृत्य प्रस्तुत गर्नुहुँदै सबैलाई भरमुग्धर हसाउनु भएको थियो । कार्यक्रममा नेपालबाट हाल बेलायत घुम्न आउनुभएका कलाकार सुबेदार मंत्री जंग गुरुङ, सदस्य हिराजंग गुरुङ, बुहारी निता गुरुङ, भान्जा प्रसिम गुरुङ र गायिका द्वय- एलिना गुरुङ अनि प्रिया गुरुङले “गलबन्दी चिनो” भन्ने चर्चित गुरुङ गीतमा रमाइलो नृत्य प्रस्तुत गरेका थिए ।

साथसाथै, कार्यक्रममा आफ्नै गाउँठाउँको प्रसिध्द गायिकाहरु- एलिना गुरुङ (ताङतिङ) र प्रिया गुरुङ (यान्जाकोट)ले गुरुङ तथा नेपाली गीतहरु गाउनुभई सबैलाई मनोरंजन गराएका थिए । कार्यक्रममा भाग्यशाली रमाइलो चिठा पनि गरिएको थियो ।

औपचारिक कार्यक्रमको अन्त्यमा भाइखलकको अध्यक्ष क्याप्टेन गौबहादुर गुरुङ एमबीईज्युले उपस्थित सबैलाई धन्यवाद दिनु हुँदै भाइखलकको दोस्रो कार्यक्रम पनि सफल र भब्य बनाउन प्रतक्ष्य अप्रत्यक्ष्य सहयोग गर्ने सम्पूर्ण कार्यसमिति सदस्यहरु, भाइखलकहरु र चेलीबेटीहरुलाई धन्यवाद अनि आभार प्रकट गर्नुभएको थियो ।

प्रमुख कार्यक्रम र चिट्ठा कार्यक्रम भाइखलकको उपाध्यक्ष बखत गुरुङले संचालन गर्नु भएको थियो भने सांस्कृतिक कार्यक्रम भाइखलक हिराजंग गुरुङले संचालन गर्नुभएको थियो । कार्यक्रमको फोटोग्राफी तथा भिडियो मिडिया संयोजक प्रशान्त गुरुङले गर्नुभएको थियो भने प्राविधिक तर्फ- बुध्दी गुरुङ, प्रसिम गुरुङ तथा जोन गुरुङले सहयोग गर्नुभएको थियो । कार्यक्रमको प्रमुख संयोजन (व्यवस्थापन) भाइखलकको महासचिव श्री तर्कजङ गुरुङले गर्नुभएको थियो भने संयुक्त रुपमा सबै सदस्यहरुले कार्यक्रमलाई सफल बनाउन सकेको सहयोग गर्नुभएको थियो ।