
घोताने घोन्डे गुरुङ तमु समाज यूके चेलीबेटीद्वारा चौथो भाईटीका तथा देउसो भैलो कार्यक्रम- २०२५ भव्य सम्पन्न
फोटो सौजन्या- सन्तोष कोंमै (कोंमै इन्टरटेनमेन्ट)
अल्डरसट । हिजो अक्टोबर १८ तारिख २०२५ साल शनिबार अल्डरसटस्थित दी प्यालेस रेष्टुरन्टको हलमा क्वोने घोताने घोन्डे गुरुङ तमु समाज यूकेका चेलीबेटीहरूद्वारा तिहारको उपलक्ष्यमा भाईटीका तथा देउसो भैलो कार्यक्रम- २०२५ भव्य रूपमा सम्पन्न गरेको छ । कार्यक्रम अत्यन्तै हर्षोल्लास, उत्साहपूर्वक र सफलतापूर्वक सम्पन्न भएको थियो ।
चेलीबेटी प्रमुख लिना गुरुङ, अध्यक्ष कुमार गुरुङ, प्रमुख अतिथि नन्दकुमारी गुरुङ, प्रमुख संरक्षक क्याप्टेन जीवन गुरुङ तथा संस्थापक अध्यक्ष एवं संरक्षक नरजन गुरुङज्यूहरूले संयुक्त रूपमा पानसमा दीप प्रज्वल्लन गर्नुहुँदै औपचारिक कार्यक्रमको सामुदघाटन गर्नुभएको थियो । लगत्तै कार्यक्रम संयोजक अल्पना तमुस्योले कार्यक्रम स्थलको स्वास्थ्य सुरक्षा सम्बन्धि जानकारी गराउनुहुँदै चेलीबेटीको तर्फबाट उपस्थित सबैजनालाई स्वगात गर्नुभएको थियो । साथसाथै नेपालको सम्मान स्वरुप नेपाली राष्ट्रिय गान पनि बजाएको थियो । कार्यक्रममा यस बर्ष स्वर्गारोहण हुनुभएका कुल पितृहरुको नाममा र नेपालको आन्दोलनमा ज्यान गुमाएका शहिदहरुको नाममा एक मिनेट मौन धारण पनि गरिएको थियो ।

चेलीबेटीहरूले आयोजना गरेको यस देउसो भैलो कार्यक्रममा माइती पक्षबाट प्रमुख सल्लाहकार हरि गोविन्द र अध्यक्ष कुमार गुरुङले शुभकामना मन्तव्य दिनुभएको थियो । मन्तव्यका क्रममा अध्यक्ष गुरुङले विदेशजस्तो ठाउँमा आफ्नै परिवारका चेलीबेटीहरूबाट प्राप्त मायाममता देख्दा अत्यन्तै खुशी लागेको र भावुक भएको बताउनुभयो । उहाँले भन्नुभयो विदेशमा हिजोका दिनमा हामी एकआपसमा चिनेका थिएनौ तर आज संस्थाको माध्यमबाट हामी सबै एउटै परिवार बनेका छौं । यही परिवार आज एउटै छातामुनि भेला भएर हाम्रो परम्परा अनुसारको चाडपर्व मनाइरहेका छौं, जुन अत्यन्तै खुशीको कुरा हो । हामी जहाँ बसे पनि आफ्नो देशको परम्परा र चाडपर्वलाई जीवित राख्नु जरुरी छ, र हामीले त्यसलाई कहिल्यै बिर्सिनु हुँदैन भन्ने कुरा अध्यक्ष कुमार गुरुङले बताउनुभयो । त्यस्तै उहाँले मुक्तिनाथ कागबेनीमा क्वोने घोताने घोन्डे गुरुङ तमु समाज यूकेद्वारा निर्माणाधीन गुम्बाको उद्घाटन यही वर्ष माघ २८ गते (फेब्रुअरी ११ तारिख) मा हुने जानकारी गराउँदै सो अवसरमा सम्पूर्ण दाजुभाइ तथा चेलीबेटीहरूलाई सक्दो संख्यामा सहभागी हुन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा चेलीबेटी तथा माइतीबीचको सम्बन्ध झनै बलियो भएको सबैले महसुस गरेका थिए। कार्यक्रममा वरिष्ठ चेली बत्तिकुमारी गुरुङ र प्रमुख अतिथि नन्दकुमारी गुरुङले पनि शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रमको समापन चेलीबेटी प्रमुख लिना गुरुङले गर्नुभएको थियो । समापन मन्तव्यमा उहाँले भन्नुभयो दाजुभाइ (माइती)हरू बेलायतजस्तो व्यस्त ठाउँमा आफ्नो अमूल्य समय निकालेर हाम्रो निमन्त्रणालाई स्वीकार गरी कार्यक्रमलाई सफल बनाउन उपस्थित हुनुभएकोमा हामी सम्पूर्ण चेलीबेटीहरू अत्यन्तै खुशी छौं । यसरी नै चेलीबेटी र माइतीबीचको सम्बन्ध सधैं मजबुत रहोस्, र हाम्रा माइती राजाहरूको सधैं जयजय रहून् ।

कार्यक्रममा, युकेको विभिन्न संघ–संस्थामा आबद्ध रहनुभएका दाजुभाइ तथा चेलीबेटीहरू मध्ये, संघ–संस्थामा सक्रिय भई अध्यक्ष, आमा समूहकी अध्यक्ष, चेलीबेटी प्रमुखजस्ता गरिमामय पदमा नियुक्त वा निर्वाचित हुनुभएकालाई चेलीबेटी प्रमुख लिना गुरुङ र अध्यक्ष कुमार गुरुङले दाजुभाइहरूलाई खादा र केक्री, तथा चेलीबेटीहरूलाई खादा, पछ्यौरा र फूल प्रदान गरी सम्मान गर्नुभयो । जसमा प्रबासी नेपाली आदिबासी जनाजाती संघ बेलायतको नव निर्वाचि अध्यक्ष प्रमुख सल्लाहकार श्री हरि गोबिन्द गुरुङ, स्विन्डन गुरुङ समाज युके नव निर्बाचित अध्यक्ष तथा यस समाजको निबर्तमान अध्यक्ष क्या. पिताम्बर गुरुङ, चार भन्ज्याङ तमु समाज युकेको नव निर्बाचित अध्यक्ष श्री दुर्गा गुरुङ, युनाइट दी युनियन लन्डनको नव निर्वाचित अध्यक्ष श्री अर्जुन कुमार गुरुङ, धम्पुस परिवार युकेको नव निर्बाचित अध्यक्ष श्री धन ब. गुरुङ, गुरुङ (तमु) सोसाइटी केन्टको नव निर्वाचित अध्यक्ष श्री गोल मान गुरुङ, साउथ इष्ट रिजनल तमु धी युकेको नव निर्वाचित अध्यक्ष ज्वाई श्री शीबरम गुरुङ बम, तमु लम (गुरुङ लामा थर) परिवार युकेको नव निर्वाचित अध्यक्ष ज्वाई श्री राम चन्द्र गुरुङलाई बधाई तथा शुभकामाना दिएको थियो । साथसाथै, चेली शान्ती गुरुङको सुपुत्र डाक्टर प्रथम गुरुङ डाक्टर भएको उपलक्ष्यमा प्रमुख अतिथि नन्द कुमारी गुरुङको बाहुलीबाट बधाई ज्ञापन गरेको थियो ।
दाज्युभाईहरुलाई पाइपरको मिठो धुन संगै हलमा स्वागत गर्नुहुँदै सधैको जस्तो गोलाकार रुपमा दाज्युभाई भाउजुबुहारीहरुलाई बसाउन्दै सामुहिक भाईटीका गरेको थियो । प्रमुख अतिथि नन्द कुमारी गुरुङले टीका, अर्को जेस्ठ चेली लक्ष्मी गुरुङले माला तथा टोपी र चेलीबेटी प्रमुखले भाउजु बुहारीहरुलाई सौल ओढाइ भाईटीका गरेको थियो । साथै दाज्युभाईहरुको तर्फबाट पनि दक्षिणा प्रदान गरेको थियो ।

कार्यक्रममा चेलीबेटीहरु- तारा, शान्ति, किना, अन्जु, माया र कबिता गुरुङले तिहारको गीत र अन्य गीतमा आकर्षक नृत्य प्रस्तुत गरेको थियो भने, तिहारको खेल झन्डी बुर्जा अनि त्रिपासा पनि खेलाएको थियो । त्यस्तै, चर्चित लोक दोहोरी गायिका कालिका रोकाले चर्चित नेपाली तथा गुरुङ गीतहरु गाएर भरमुग्धर मनोरंजन गराएको थियो । चेलीबेटी महासचिब ध्रुब गुरुङले कार्यक्रम सफलतापुर्बक संचालन गर्नुभएको थियो । चर्चित फोटोग्राफर तथा सिनेटोग्राफर सन्तोष कोंने गुरुङले फोटोग्राफी गर्नुभएको थियो भने तमु मै ता युकेका प्रतिनिधि मीमकाजी गुरुङले फेसबुकमा कार्यक्रमको प्रतक्ष्य प्रसारण गर्नुभएको थियो ।
यसरी क्वोने घोताने घोन्डे गुरुङ तमु समाज यूकेका चेलीबेटीहरूद्वारा आयोजना गरिएको तिहारको देउसो भैलो कार्यक्रम आपसी सद्भाव, परम्परा र मायाममताले ओतप्रोत हुँदै अत्यन्त सफलतापूर्वक सम्पन्न भएको थियो ।








