मनाङ एयर हेलिकप्टर दुर्घटना : चालकसहित ६ जनाकै मृत्यु
काठमाडौँ — सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित ६ जनाको मृत्यु भएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन-एएमभी कलसाइन रहेको हेलिकप्टर लिखुपिके गाउँपालिका-५को लामजुरा क्षेत्रमा दुर्घटना हुँदा क्याप्टेन चेतबहादुर गुरुङ र ५ जना मेक्सिकन यात्रुको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
मृत्यु हुने मेक्सिकन यात्रुहरूमा सिफुएन्टेस जी फर्नाडो, रिंकोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक रहेका छन् । सोलुखुम्बु जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु भएको पुष्टि गरे । अहिले सबै शव संकलन भइसकेको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराई र आफू हेलिकप्टरमार्फत दुर्घटनास्थल जान खोजे पनि मौसमको खराबीका कारण अवतरण हुन नसकेको उनले बताए । उनले भने, ‘दुर्घटनामा ६ जनाकै मृत्यु भएको छ । सीडीओ सर र म दुर्घटनास्थलमा जान खोजेका थियौँ । तर खराब मौसमका कारण हेलिकप्टर तल लिखुपिके गाउँपालिका वडा नम्बर ५ मै अवतरण गरिएको छ ।’ उनका अनुसार दुर्घटनास्थलमा बेनी प्रहरी चौकीबाट २ जना र किञ्जा प्रहरी चौकीबाट ४ जनाको टोली उद्धारका लागि पुगेको छ । खराब मौसमका अनुसार शव ल्याउन समस्या भइरहेको डीएसपी श्रेष्ठले बताए ।
उद्धारका लागि गएका हेलिकप्टर दुर्घटनास्थलमा अवतरण हुन नसकेपछि लिखुपिके गाउँपालिका-५ मै अवतरण गराइएको छ । प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले जिल्ला सदरमुकाम सल्लेरीबाट नेपाल प्रहरी र नेपाली सेनाबाट थप २१ जना गाडीबाट दुर्घटनास्थल पठाइएको बताए ।
मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ मेक्सिकन यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर २ र लिखुपिके गाउँपालिका-५ को सीमा लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको बेनी प्रहरी चौकीले जनाएको छ ।
हेलिकप्टर लामजुराडाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद भएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका एटीसी अफिसर सागर कँडेलले बताए । हेलिकप्टर बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो । उनका अनुसार हेलिकप्टर १० बजेर ५ मिनेटमा सुर्केबाट उडेको थियो ।
लुक्ला विमानस्थलको मौसम खराब भएकाले काठमाडौंबाट गएको उक्त हेलिकप्टर सुर्केमै अवतरण गरिएको थियो । यात्रुहरूलाई सुर्केसम्म गाडीबाटै ल्याएर काठमाडौं उडाइएको थियो । दुर्घटनाको खबर पाउनेबित्तिकै सोलु दूधकुण्ड नगरपालिका-२ बेनीस्थित प्रहरी चौकीबाट असई निराजन बस्नेत नेतृत्वको टोली दुर्घटनास्थल पुगेको थियो ।
हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको हेलिकोप्टर लिखुपिके गाउँपालिका-५, लाम्जुरापासको चिहानडाँडामा दुर्घटना भएको हो । प्रधानमन्त्री दाहालले मृतकप्रति श्रद्धासुमन अर्पण गरेका हुन् ।
हेलिकोप्टर दुर्घटनामा परी ६ जनाको निधन भएको छ । प्रधानमन्त्री दाहालले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनमा समवेदना प्रकट गरे ।
मनाङ एयरको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न सरकारले समिति बनाउने
सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ ।मंगलबार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण सहारोहपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराँतीले सो जानकारी दिएका हुन् ।
मंगलबार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा उत्तर अमेरिकी मुलुक मेक्सिकोका ५ जना यात्रु र एक नेपाली पाइलटको मृत्यु भएको छ । मन्त्री किराँतीले आफू जनकपुरबाट फर्किएपछि सके आजै र त्यो नभए बुधवारसम्ममा छानबिन समिति बनाएर मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गरिने बताए ।
सरकारले पहिलो दिनबाटै सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै सरकार नागरिकको सुरक्षामा काम गरिरहेको बताए ।
‘हामीले डे वान देखि नै सेफ्टी फस्र्ट भनेर यही नारा उच्चारण गरेका छौँ । सेफ्टीमा कुनै सम्झौता हुँदैन। दुर्घटना नहोस् भनेर नै हामीले सेफ्टी फस्र्ट भनेका छौँ,’ उनले भने, ‘हाम्रो पहिलो सर्त सुरक्षा हो । हामी छलफल बहसमा नै छौँ, कसरी सेफ्टीलाई उठाउन सकिन्छ भनेर छलफलमा छौँ । अब छानबिन समिति बन्छ, हामी गएर बनाउँछौँ । भोलिसम्ममा गठन हुन्छ।’