बालुवाटार जग्गा प्रकरण : मीनबहादुरको सहित ५ वटा रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाण्डौ । बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका बन्दीसहितका ५ वटा रिट निवेदनमा सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा शुक्रबार सुनुवाइ भएको हो ।

बालुवाटार जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान थालेपछि मीनबहादुर गुरुङ, सुधीरकुमार शाह, धर्मप्रसाद गौतमले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

यस्तै यही प्रकरणमा पक्राउ नगर्नू भनी सर्वोच्चले १७ जना प्रतिवादीका नाममा अन्तरिम आदेश दिएको रिट पनि सँगै पेस गरिएको छ । टीकाराम घिमिरेसहित १७ जनाले गत साउन १९ गते ईश्वरप्रसाद खतिवडाको इजलासले अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेश खारेज गर्न माग गर्दै प्रहरी प्रधान कार्यालयले पनि सर्वोच्चमा रिट दायर गरेको छ। यी सबै रिटको सुनुवाइ आज सकिएको हो ।

मीनबहादुर गुरुङसहितलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा पूर्व महान्यायाधिवक्ताद्वय सुशील पन्त, रमनकुमार श्रेष्ठ, वरिष्ठ अध्यक्ष हरिहर दाहाल लगायतले बहस गरेका छन् । सरकारी वकिलले भने उनीहरुलाई हिरासतमै राखेर अनुसन्धान गर्न माग गरेका छन् ।