
एलओडीका सञ्चालक रुदिल बल्लव श्रेष्ठ पनि पक्राउ
काठमाण्डौ । १६ वर्षीया नाबालिग बलात्कार घटनामा ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) का अर्का सञ्चालक रूदिलबल्लव सिंह पक्राउ परेका छन् । उनलाई आज बिहान ९:३० बजे कुपन्डोलबाट पक्राउ गरिएको ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी शिद्धिविक्रम शाहले जानकारी दिए । एसएसपी शाहकाअनुसार पक्राउ परेका सिंहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
नाबालिका बलात्कार घटनामा उनीहरूविरूद्ध असार १३ गते पक्राउ पुर्जी जारी भएको थियो । यस घटनामा प्रहरीले जबरजस्ती करणी भएको भन्दै नाबालिगले प्रहरीलाई खबर गरेपछि आरोपित पुरूषलाई पक्राउ गरिसकेको छ । बलात्कार अभियोगमा पक्राउ पर्नेमा पोखरा घर भई बागडोलमा बस्ने ५० वर्षीय सुदन कोइराला छन् ।
नाबालिगको बलात्कार भएपछि प्रहरीले एलओडी क्लबलाई कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै दुई सञ्चालकविरूद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ अनुमति लिएको हो ।
१६ वर्षीया नाबालिग जेठ ३१ गते राति फेसबुकबाट चिनजान भएकी एक साथीसँग क्लबमा पुगेकी थिइन् । यसरी क्लबभित्र पसेकी पीडितको भेट कोइरालासँग भएको थियो ।
‘फेसबुकमा भेट भएको साथीसँग एलओडी गएकी रहेछन् । घुम्न जाऔं भनेपछि त्यहाँ पुगेको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसपछि साथीचाहिँ कहाँ गइन् थाहा हुन्न । पीडितले साथीसँगै घर जान्छु भनेकी हुन्छ । तर पुरूषले साथी भएकै ठाउँमा लग्छु, मसँगै छ भनेर बागडोल पुर्याएको देखिन्छ ।’
घटना भएयता किशोरीकी ती साथी सम्पर्कविहीन छिन् । सुदन फाइबरको एक कम्पनी चलाउँछन् । उनको बागडोलस्थित अफिसमा पुर्याएर नाबालिगमाथि बलात्कार भएको प्रहरीले जनाएको छ । बलात्कार भएको खबर पाएपछि प्रहरीले सुदनलाई पक्राउ गरेको थियो ।
यसअघि एलओडीका अर्का सञ्चालक राजुसिंह सुवाल बिहीबार बालुवाटारबाट पक्राउ परेका थिए ।



