भारतीय राज्यमन्त्री लेखीले प्रधानमन्त्री दाहाललाई स्वागत गरिन्
नयाँ दिल्ली — चारदिने भारत भ्रमणका लागि बुधबार नयाँदिल्ली आएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् । लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरू र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा पनि विमानस्थलमा पुगेका छन् । प्रधानमन्त्री दाहालको स्वागतका लागि विमानस्थल बाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको छ ।
प्रधानमन्त्री दाहालको भ्रमणबारे राजदूत शंकर शर्माले पनि औपचारिक जानकारी दिएका छन् । उनले प्रधानमन्त्री दाहाललाई विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेको भन्दै ट्विटरमार्फत् जानकारी दिएका छन् । सरकारको नेतृत्वमा फर्किएको पाँच महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार चारदिने भारत भ्रमणको तय गरेका हुन् ।
गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो । उनी बुधबार दिउँसो १:२५ बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत आएका हुन् । यसअघि २०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका तत्कालीन रक्षा राज्यमन्त्री अजय भट्ट्ले स्वागत गरेका थिए ।
बुधबार प्रधानमन्त्री दाहाल विमानस्थलमा स्वागत कार्यक्रमपछि होटलतर्फ प्रस्थान गरिसकेका छन् ।
भारतीय सुरक्षा सल्लाहकार डोभाल र विदेश सचिव क्वात्राले भेटे प्रधानमन्त्री प्रचण्ड
त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच भेटवार्ता भएको छ । चार दिने भ्रमणका लागि बुधबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड र डोभालबीच होटल आइसीटी मौर्यामा भेटवार्ता भएको हो । सोही क्रममा भारतीय विदेश सचिव विनय मोहन क्वात्राले समेत प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
उनीहरूबीच नेपाल-भारतको द्विपक्षीय हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसपछि प्रचण्ड नयाँ दिल्लीको बारखम्बास्थित नेपाली दूतवासमा आयोजित रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले भोलि (बिहीबार) समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। हैदरवाद हाउसमा हुने भेटमा उनीहरूबीच ‘वान टु वान’ छलफल हुने छ। त्यसलगत्तै दुई देशबीच सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।
भारत भ्रमणका दौरान प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति द्रोपति मूर्मु, उपराष्ट्रपतिलगायतसँग शिष्टाचार भेटवार्ता गर्नेछन्। मध्यप्रदेशको इन्दोर पुगेर प्रधानमन्त्री प्रचण्ड शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।